सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकस्थित हुलाकी राजमार्गबाट प्रहरीले भन्सार छली ल्याइएको कपडासहित एक टेम्पो नियन्त्रणमा लिएको छ।

प्रहरीले टेम्पो चालकलाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ९ गते राति करिब ११ बजे कोशी प्रदेश प्रहरी कार्यालयको पीआईटी विराटनगर र प्रहरी चौकी रामगञ्ज बेलगछियाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको कपडा बरामद गरेको हो।

प्रहरीले को २ ह २७५१ नम्बरको टेम्पो जाँच गर्ने क्रममा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा फेला पारेको जनाएको छ।

प्रहरीले टेम्पोसहित त्यसका चालक मोरङको विराटनगर महानगरपालिका–११ बस्ने ३८ वर्षीय देवेन्द्र खड्कालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका खड्कालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद कपडा र टेम्पोको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।