सुनसरी — स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारदाता र कामको खोजीमा रहेका युवालाई प्रत्यक्ष सम्पर्कमा जोड्ने उद्देश्यले इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको सभामुख डोलप्रसाद अर्यालले बुधबार उद्घाटन गरेका छन् ।
‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।
कोशी प्रदेशलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलामा रोजगारी खोजिरहेका युवालाई रोजगारीका अवसरबारे जानकारी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क, सीप विकाससम्बन्धी परामर्श तथा छोटो अवधिका तालिमको अवसर उपलब्ध गराइने आयोजकले जनाएको छ ।
मेलामा एक सयभन्दा बढी रोजगारदाता तथा तालिम प्रदायक संस्था सहभागी छन् ।
त्यस्तै तीन तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारबीचको सहकार्यमा मेला सञ्चालन गरिएको हो । विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका ७५ भन्दा बढी स्टल मेलामा राखिएका छन् । मेलामा पुग्ने युवाले आफूले खोजेको काम, आवश्यक योग्यता, सीप र रोजगारदाताको मागबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
रोजगारदाताले पनि आफूलाई आवश्यक पर्ने जनशक्तिको माग प्रस्तुत गर्नुका साथै सम्भावित उम्मेदवारसँग प्रत्यक्ष भेटघाट, अन्तर्वार्ता तथा छनोट प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयका सचिव दिपक काफ्ले जानकारी दिए ।
उनका अनुसार मेलाको अवधिमा रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क र सहकार्यको वातावरण बनाइनेछ ।
रोजगारदाताले आवश्यक जनशक्तिको माग प्रस्तुत गर्ने र सम्भावित उम्मेदवारसँग अन्तर्वार्ता तथा छनोट प्रक्रिया अघि बढाउन सक्नेछन् ।
मेला रोजगारीको सूचना दिने थलोमा मात्र सीमित नराखी सीप विकास र रोजगारको सम्पूर्ण प्रक्रियालाई एउटै ठाउँमा जोड्ने गरी आयोजना गरिएको छ ।
मेलामा सीप तथा रोजगारीका अवसरबारे जानकारी, रोजगारसम्बन्धी परामर्श सेवा, डिजिटल मार्केटिङ तथा एआईसम्बन्धी सीपमूलक तालिम, नवप्रवर्तन तथा उद्यमशीलता र लामो अवधिका तालिम तथा रेफरल सेवासमेत राखिएको छ ।
मेलामा १० विधाका छोटो अवधिका तालिम सञ्चालन हुनेछन् ।











