मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ को मनोनयन दर्ता सुरु हुनुअघि नै पार्टीका नेता तथा कार्यकर्ताबीच झडप हुँदा क्षेत्रीय सभापतिका उम्मेदवारसहित करिब एक दर्जन घाइते भएका छन् ।
झडपपछि बुधबार हुने भनिएको मनोनयन दर्ता प्रक्रिया रोकिएको छ ।
सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको गेटअगाडि मनोनयन दर्ताका लागि नेता तथा कार्यकर्ता भेला भएका बेला दुई पक्षबीच विवाद बढेपछि झडप भएको हो ।
झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तब्दार, चेतराज रेग्मी र समुद्र पोखरेलसहित नेता तथा कार्यकर्ता घाइते भएको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा केही नेता तथा कार्यकर्ताबीच भनाभन भएको थियो ।
विवाद बढ्दै गएपछि हात हालाहालको अवस्था सिर्जना भएको र त्यसक्रममा एकअर्कामाथि कुटपिट भएको थियो । प्रारम्भिक जानकारीअनुसार पार्टीभित्रकै व्यक्तिगत रिसिइबी तथा पुराना विवादका कारण भनाभन सुरु भएको थियो ।
घटनापछि प्रतिष्ठान परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । झडपमा घाइते भएकाहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । घाइतेको यकिन संख्या र अवस्थाबारे पार्टी तथा प्रहरीबाट औपचारिक विवरण सार्वजनिक भइसकेको छैन ।
कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत मोरङ–६ मा बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको थियो ।
तर मनोनयन दर्ता सुरु हुनुअघि नै नेताहरू तथा कार्यकर्ताबीच झडप भएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको हो ।
झडपपछि मनोनयन दर्ता प्रक्रिया तत्कालका लागि रोकिएको बताइएको छ । घटनाका कारण मोरङ–६ को अधिवेशनको बाँकी प्रक्रिया कसरी अघि बढाउने भन्नेमा अन्योल देखिएको छ ।
कांग्रेसको आन्तरिक निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका नेता तथा कार्यकर्ता नै मनोनयनस्थलमा विवादमा उत्रिएपछि पार्टीभित्रको गुटगत तथा व्यक्तिगत विवाद सतहमा आएको छ ।
मनोनयन दर्ता नै प्रभावित भएपछि मोरङ–६ को निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गर्ने वा रोकिएको प्रक्रिया पुनः अघि बढाउने विषयमा निर्णय गर्नुपर्ने अवस्था आएको छ ।











