सुनसरी । धनकुटामा अलकत्र तताउने क्रममा सवारी साधनमा आगलागी भएको छ । रवि–राके–भेडेटार सडकखण्ड अन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका ६ धाराचोकमा सवारी साधनमा आगलागी भएको हो ।
सडक कालोपत्रे गर्ने क्रममा एप्को इन्फ्राटिच निर्माण कम्पनीको युपी ४२ बीटी ६९२५ नम्बरको बिटुमिन डिस्ट्रिब्युटर गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ ।
सडकमा रोकेर अलकत्र तताउने क्रममा अचानक आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजारानी, धनकुटाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीबाट सवारी साधन पूर्ण रूपमा क्षति भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।











