सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

एपीएफले उद्घाटन खेलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबार साँझ धरान रङ्गशालामा सम्पन्न खेलमा एपीएफको जितमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्।

रश्मिकुमारी घिसिङले दुई गोल थप्दा एपीएफले एक गोल विपक्षी टोलीबाट आत्मघाती उपहार पाएको थियो।

खेलको सुरुदेखि नै भारतीय टोलीमाथि दबाब बनाएको एपीएफले पहिलो हाफमा तीन गोल गरेको थियो।

पहिलो हाफको १८औँ मिनेटमा पूर्णिमाले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्।

त्यसपछि २२औँ मिनेटमा अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपीएफले अग्रता दोब्बर बनायो।

२९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफ एपीएफको पक्षमा ३–० मा सकिएको थियो। दोस्रो हाफमा पनि एपीएफको आक्रामक खेल रोकिएन।

दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन्। 

दोस्रो हाफको  ३३ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेपछि एपीएफले ६–० को अग्रता बनायो। खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपीएफ ७–० ले विजयी भयो।

चार गोल गरेकी पूर्णिमा राई खेलको प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रतियोगिताअन्तर्गत आइतबार आयोजक स्वर्णिम क्लब र गाइघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ।

मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन्।

प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन्।