इटहरी । पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् । पशुपतिक्षेत्रि विकास कोषको जाहरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका परियार र अन्सारीलाई प्रहरी वृत्त गौसला पठाइएको छ ।
पशुपति मन्दिरमा गैर–हिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरी वृत्त गौशालाको पत्रका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अन्सारी र परियारले प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेका उनीहरू केही दिन अघि पशुपतिनाथ मन्दिरमा गएर भिडियो बनाएका थिए । उनीहरूले बनाएको भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही टोपीका आधारमा सांसद खुस्वु ओलीले प्रतिनिधि सभाको बैठकमा प्रश्न गरेकी थिइन् । संसदमा नै प्रश्न उठेपछि पशुपति नाथ दर्शन गरेर घर आएका उनीहरूलाई पक्राउ गरिएको हो ।
परियारले श्रीमान् अन्सारीलाई पशुपतिनाथ लगेको बताउँदै पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको उल्लेख गरेकी छन्। आफ्नो धार्मिक आस्थाको केन्द्रमा श्रीमानलाई सँगै लिएर जानुलाई अन्य उद्देश्यबाट नबुझ्नसमेत उनले प्रहरीसँग आग्रह गरेकी छन् । अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी ८ का स्थायी बासिन्दा हुन् ।











