सुनसरी । इटहरीको प्रतिष्ठित क्लब राष्ट्रिय जागृति क्लबले आयोजना गर्ने नगरस्तरीय खुल्ला साँस्कृतिक लोकनृत्य प्रतियोगिताका लागि आवेदन खुल्ला गरेको छ । 

हरेक बर्ष काग तिहारको दिन आयोजना गरिने विद्यालय स्तरीय खुल्ला लोकनृत्य प्रतियोगिता यस बर्ष आगामी कात्तिक २० गते आयोजना हुँदैछ । सो प्रतियोगितामा सहभागीताका लागि आवदेन खुल्ला गरिएको क्लबले जनाएको छ ।  

बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा लोकनृत्य प्रतियोगितासँगै विभिन्न विधामा ख्याति प्राप्त व्यक्तित्वहरूलाई सम्मान गरिने राष्ट्रिय जागृति क्लबका अध्यक्ष केशव कार्कीले जानकारी दिए । 

क्लबले प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै सूचना जारी गरिएको अध्यक्ष कार्कीले बताए ।  प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय वा संस्थाले कात्तिक १५ गतेभित्र आफ्नो संस्थाको नाम, गितको बोल र प्रतियोगिहरुको नाम दर्ता गराइसक्नुपर्ने क्लबले सूचनामा भनेको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेतालाई पुरस्कारसँगै प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । 

प्रतियोगिता आगामी कात्तिक २० गते शुक्रबार अपराह्न ४ बजेदेखि जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।