सुनसरी । सप्तकोसी नदीमा पानीबोट दुर्घटना हुँदा एक बालिका सहित तीन जनाको मृत्यु भएको छ । भोजपुरबाट यात्रु बोकेको पानीबोट धनकुटाको त्रिवेणीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको  स्थानमा अहिले सुनसरी, उदयपुर र धनकटाका प्रहरीहरुले उद्धार तथा खोजतलासको काम जारी राखेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जानकारी दिएको छ । दुर्घटनामा परेका ५ जनाको सकुशल उद्दार गरिएको धनकुटा प्रहरीले बताएको छ । अन्यको खोजी कार्य जारी छ । 

भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गर्दा त्रिवेणी क्षेत्रमा आइपुगेको पानीबोटको इन्जिन बन्द भएपछि दुर्घटना भएको भनिएको छ । 

दुर्घटनापछि उद्धार गरिएका चार जनालाई उपचारका लागि चतरा अस्पताल ल्याइएकोमा तीन जनाको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए ।

मृत्यु भएकाहरुको पहिचान हुन सकेको छैन । उनीहरु भोजपुरबाट सुनसरी तर्फ आएका यात्रुभएको प्रहरीको भनाई छ । 

अन्यको उद्दार तथा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।