सुनसरी । सम्झनुहोस् त संसारको अन्तिम दिनमा तपाई के गर्नुहुन्छ ? संसार सकियो भनेर दुख मान्दै रुनुहुन्छ वा दु ःखको संसार सकिदैछ थोरै समय खुसी भएर बाँचौ भनेर खुसी हुनुहुन्छ ? दुविधा पक्कै हुन्छ । हो यस्तै परिवेशलाई पस्कने नाटक ‘४ ला ४’ मञ्चन हुने भएको छ ।
भिडा इभेन्ट्सले काठमाण्डौँको सानेपास्थित इडेनमा चार दिन नाटक ‘४ ला ४’ मञ्चन गर्न लागेको हो । पछिल्लो समय नाटक लेखन तथा निर्देशनमा छुट्टै पहिचान बनाउन सफल युवा लेखक सुगम दुलालको लेखन तथा निर्देशनमा नाटक मञ्चन गर्न लागिएको हो ।
भोली विहिबार देखी आइतबार सम्म चार दिन नाटक मञ्चन गरिने भिडा इभेन्ट्सले जानकारी दिएको छ । विहिबार र शुक्रबार एउटा सो साढे ५ बजे, शनिबार २ वटा सो र आइतबार १ वटा सो प्रर्दशन गरिने भिडाले जानकारी दिइएको छ ।
नाटकमा कलाकार लुमन्ती महर्जन, अबिन ठटाल र बिकास श्रेष्ठको अभियन रहेको छ भने निर्देशक सुगमको पनि अभियन रहनेछ । नाटकको कोरियोग्राफ युवा कलाकार विकास श्रेष्ठले गरेका छन् भने नाटकको सिर्जनात्मक निर्देशन कर्भिका पोखरेलले गरेकी छिन् ।
नाटकको विषयवस्तु निकै रोचक छ । संसार सकियो भने के हुन्छ ? डराउने, रुने कि जिन्दगीकै सबैभन्दा रमाइलो दिन मनाउने ? यो एक अनौठो प्रश्नको उत्तर नाटकमा खोजिएको छ ।
नाटक ४ ला ४ चार अपरिचित मानिस, एउटा अस्पताल र संसारको अन्तिम दिनको एउटा अनौठो परिस्थितिको कथा हो। नाटक हाँसो, व्यङ्ग्य, अराजकता र अप्रत्याशित मोडहरूले भरिएको छ । कथाका पात्रहरुले संसारलाई आ आफ्नै ढंगबाट बाँच्नेछन् । यो नाटकले अन्त्यमा एक प्रश्न सबै दर्शकलाई छोड्नेछ, यदि भोली छैन भने, आज किन नबाँच्ने ?
नाटकको कथा,विषयवस्तु र पात्रहरुको अभिनयलाई लिएर आफु उत्साहित रहेको लेखक तथा निर्देशक सुगम दुलालले बताएका छन् । नाटकलाई दर्शकहरुले मन पराईदिनुहुन्छ भन्ने विश्वास रहेको उनले बताए ।











