सुनसरी - धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ राइले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा माग गरेका छन् । आज बिहिबार पत्रकार सम्मेलन गर्दै उनले जारी गरेको निर्देशनात्मक विज्ञप्तीमा केही वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् ।
कार्यपालिका सदस्यहरु लागि बैठक बस्नै पर्ने सबैको कर्तव्य भएकाले कसैले ‘म बैठक बस्दिन’ भने बहिष्कार गरेर जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै राजीनामा दिन राईले चेतावनी दिएका छन । बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न उनले आग्रह गरेका छन ।
उनले धरानका वडाहरूमा भएका कामको विवरण पनि सार्वजनिक गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएका छन् । वडामा भएको प्रगति र कामका बारेमा आफूलाई समेत थाहा नभएकाले यसको जानकारी माग गरेको राईको भनाई छ । धरान उपमहानगरमा लामो समयदेखि कार्यपालिका बैठक बस्न नसकेको पछी बाध्य भएर राजीनामा माग गर्नुपरेको राईको दाबी छ । पछिल्लो पटक दुइदिनअघि गत सोमबार बोलाइएको बैठकमा धरान १४ नंम्बर वडाअध्यक्ष मात्र उपस्थित भएपछी बैठक बस्न सकेको थिएन ।
वडाअध्यक्षहरु भने नगरप्रमुख राईले समन्वय र सहमतिविना आफूखुसी काम गरेको, बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि आन्दोलित छन् । नगरप्रमुखको स्वकीय सचिवले निर्देशनात्मक पत्र पठाएको भन्दै चैत पहिलो साता वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले नगरप्रमुख राईलाई माफी माग्न अल्टिमेटम दिएका थिए भने केही वडाध्यक्षहरूले हातमा कालोपट्टी बाँधेर विरोध गरेका थिए ।