विराटनगर । विराटनगर जेसीजद्वारा मुस्लिम धर्मावलम्बीको पवित्र चाड  रम दानको अवसर पारेर हरेक दिन बर्त बस्ने बर्तालुहरूलाई इफ्तर भोज को आयोजना गरेको  छ ।

रम दान लाई पवित्र महिनाका रूपमा समेत लिने गरिएको छ ।यो महिनाभर मुस्लिम धर्मावलम्बीले बिहान देखि  सूर्य नअस्ताउन्जेल सम्म भोजन गर्दैनन् । जसलाई रोजा भनिन्छ । सूर्य  अस्ताए पछि पवित्र भएर मात्र भोजन गर्ने गरिन्छ र मुस्लिम समुदायका विभिन्न व्यक्तिहरूले धर्म कमाउनका लागि इफ्तार आयोजना गर्ने गर्दछन् ।
 
विराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरूको सहभागिता रहेको थियो । 
विराटनगर जेसीजका अध्यक्ष अविनाश थापाका अनुसार नेपाल बहु सांस्कृतिक मुलुक भएका कारण सबै धर्मलाई समान ढङ्गले हेरिने गरिएको र धार्मिक सहिष्णुता कायम राख्न पनि एक धर्म र अर्को धर्मका बिच आपसी भाइचाराको विकास हुनु पर्ने र आफूले सोही अनुरूप सबैलाई समेट्दै यस कार्यक्रमको आयोजना गरिएको बताए । 
विराटनगर जेसीजका पूर्व अध्यक्ष गोपाल गुप्ताले समुदाय जोड्ने कडिका रूपमा जेसीजद्वारा आयोजना गरिएको कार्यक्रम प्रशंसा योग्य रहेको बताए  । 

मुस्लिम समुदायका अगुवा तथा युवा  वसिम आलमले यस किसिमको भिन्न समुदायका युवाहरूका लागि अन्य धर्मावलम्बीले इफ्तर आयोजना गरेको आफूले थाह नपाएको र जेसीजले यस किसिमको कार्यक्रम आयोजना गरेर आपसी सद्भाव र भाइचारा बढाउन गरेको योगदानको आफूहरूले उच्च कदर गर्ने बताए ।  

कार्यक्रममा सामाजिक अभियानता चाँदबाबु इराकी , युवा नेता मुसरफ खान लगायत मुस्लिम समुदायका युवाहरूको उल्लेख सहभागिता रहेको थियो भने , विराटनगर जेसीजका पूर्व अध्यक्ष ,  बोर्ड तथा पदाधिकारी , सदस्य , जुनियर जेसीज लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमका कार्यक्रम संयोजक अभिषेक गौतमले जानकारी दिए ।