विराटनगर । धरान उप महानगरका मेयर हर्क सपाङ्ग र वडा अध्यक्षहरूको विवाद थप चुलिएर गएको छ । विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङले वडा अध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडा अध्यक्षहरूको राजीनामा मागेसँगै वडाअध्यक्षहरुले पनि मेयर एक वर्षको अवधिमा पूर्ण रूपमा असफल भएको बताएका छन् ।
मेयरको विज्ञप्ति पछि वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरूले पनि मेयर साम्पाङ्गलाई राजीनामा गरेर पुन चुनाव लड्न चुनौती दिएका छन् । पत्रकार सम्मेलन गर्दै वडाअध्यक्षहरुले एक वर्षको अवधिमा मेयर साम्पाङ पूर्ण रूपमा असफल भएको आरोप लगाए । एक वर्ष सम्म मेयरको पेलान सहको भन्दै अव सहेर नबस्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले विधि र प्रक्रिया भन्दा बाहिर गएर धाक धम्की दिएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा धरान वडा ६ बाट स्वतन्त्र रूपमा निर्वाचित भूपेन्द्र भट्टराईले साम्पाङ लाई नगर प्रमुख पदबाट राजीनामा दिएर वडा ६ मा वडाध्यक्ष जितेर देखाउन चुनौती दिए ।
उनले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै भने, ‘आफ नै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ रु के खोला मेयरको ठेक्का हो ’
उनले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको झुकेको तर त्यसको गलत अर्थ लगाएको बताए ।
वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङ सँग वडाध्यक्षहरूको व्यक्तिगत लडाई नभै विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाई भएको बताए । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आफै राजीनामा दिएर चुनावमा भिड्न चुनौती दिए ।
उनले धरानलाई समृद्ध बनाउन कार्यपालिकालाई एकताबद्ध बनाएर अघि बढाउने दायित्व र भूमिका नेतृत्वमा बसेको मेयरको भएको बताए । मिलेर मिलाएर जाऊ भन्दै अगाडि बढेको तर अबको ‘लडाई अब वारपारको बनेको भट्टराईले बताए ।
मेयर साम्पाङले बोलाएको बैठकमा धरानको विकासको एजेन्डा नभएको र वडाध्यक्षहरू बैठकमा नजाँदा धरानको विकास प्रभावित नभएको बताए । खानेपानीको बारे धेरै कुरा भए पनि मेयर धरान खानेपानी बोर्ड अध्यक्ष नभएको उनले दाबी गरे ।
उनले भने ‘फेसबुकमा लाईक र कमेन्टले धरान चल्दैन ।’ धरान बनाउन स्थानीय शासन सञ्चालन ऐन नियमको अनुसार अघि बढ्नुपर्ने उनले बताए । उनले वडाध्यक्षहरूको ५ वटा माग पूरा नभए कानुनी प्रक्रियामा जाने स्पष्ट गरे ।
वडा नम्बर १८का अध्यक्ष प्रवीण राईले कार्यपालिका बैठक सुचारु गर्न मेयर आफै नलागेको आरोप लगाए । सहजीकरणको लागि समीक्षा गरौँ भनेका थियौ तर उहाँ आफै मान्नु भएन ।
उनले सामाजिक सञ्जालमा वडा अध्यक्षहरूलाई गुइँठे भन्ने अपमान गर्ने र अस्तित्वमाथि नै धावा बोल्ने अधिकार मेयर साम्पाङ लाई नभएको बताए । उनले भने ‘क्रियाको प्रतिक्रिया हुन्छ, मेयर धकुले उपनामले चिनिएका छन् ।’
धरानमा लामो समयदेखि वडाध्यक्ष र मेयर बिच विवाद हुँदै आएको छ । मेयरका स्वकीय सन्दीप लिम्बुले वडा अध्यक्षहरूलाई निर्देशनात्मक पत्र पठाएपछि विवाद सुरु भएको हो ।