इनरुवा । इनरुवा नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ । इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा शारदा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा भएको बैठकले जयकृष्ण यादवको अध्यक्षतामा  इनरुवा महासङ्घ समिति गठन गरेको हो ।  यादव सरस्वती मावि बबिया इनरुवा ९ को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । 
त्यस्तै महासङ्घका इनरुवा उपाध्यक्षमा भगवती माविका विश्वनाथ ओझा, सचिवमा देवकोटा आधारभूतका राकेश निरौला, उप सचिवमा नेपाल राष्ट्रिय माविका निर्मल कुमार खवास सिंह र कोषाध्यक्षमा जनहित आधारभूत विद्यालयका देवका दाहाल कोइराला चयन भएका छन् । 
सदस्यहरूमा पूजा चौधरी (सिद्धार्थ आधारभूत विद्यालय), राम सुन्दर साह(जनकल्याण आधारभूत विद्यालय), कमल कार्की (जनता मा.वि.),  शशि थापा मगर ( बुढासुब्बा आधारभूत विद्यालय), सत्यनारायण शर्मा खत्वे (शिशु निकेतन आधारभूत विद्यालय), उमाकान्त मेहता (गणेश नेरा आधारभूत विद्यालय) रहेका छन्  । 
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका केन्द्रीय सचिव काशीनाथ दंगालले शैक्षिक गुणस्तर सुधार र सामुदायिक विद्यालय सुधार तथा सार्वजनिक शिक्षा बलियो बनाउन विद्यालय व्यवस्थापन समितिहरूको बिचमा नीतिगत बहस तथा छलफल हुने थलोको रूपमा महासङ्घले काम गर्दै आएको बताए । 
इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा शारदा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलले इनरुवाको शिक्षा तुलनात्मक रूपमा खस्केकाले प्रत्येक विद्यालयको अवस्था अवलोकन भ्रमण र अनुगमन गरेर योजना बनाउनु पर्ने बताए ।  
महासङ्घका नवनिर्वाचित इनरुवा अध्यक्ष यादवले विद्यालयका प्रत्येक कक्षाका आमा समूह गठनदेखि कक्षा र विद्यालय अनुगमनसम्मको काम गर्दै  सामुदायिक विद्यालयमा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाए  ।