इटहरी । इटहरीबाट प्रकाशित एक मात्र दैनिक पत्रिका पूर्वी हटलाइनले स्थापनाको दशौँ वर्ष प्रवेश गरेको अवसरमा दुई जनालाई सम्मान गरेको छ । पत्रिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी पत्रकारितामा योगदान पुराउँदै आएको र सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै दुई जनालाई सम्मान गरेको हो ।
हटलाइनले सप्तकोसी टेलिभिजनका पत्रकार दिपक कार्की र सामाजिक क्षेत्रमा योगदान पुराउँदै आएका समाजसेवी विष्णु रिजाललाई सम्मान गरेको हो ।
सम्मानितहरूलाई नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य,नेपाल पत्रकार महासङ्घ कोशिका अध्यक्ष लिला वल्लव घिमिरेले संयुक्त रूपमा दोसल्ला तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य अमर खड्का, प्रदेश अध्यक्ष लिला वल्लव घिमिरे, महासङ्घका महासचिव विवेक गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना व्यक्त गर्दै वक्ताहरूले स्थानीय पत्रिकाहरूलाई स्थानीय तहले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संस्थाका साथै सञ्चार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।