इटहरी । कलालय इटहरीले सञ्चालन गरेको स्कुल थिएटरको आठौं संस्करण सकिएको छ । सोमबार इटहरीको तायारिप्ची भवनमा दुई दिने नाट्य प्रदर्शनीसँगै स्कुल थिएटरको समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कला संस्कृतिको विकासका लागि सबै पक्ष आपसी सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् । उनले साना बालबालिकाहरुको नाट्य प्रस्तुतीबाट आफू प्रभावित भएको बताउँदै राज्यले कला, संस्कृतिको विकासका लागि भूमिका खेल्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा पाँच वटा नाटक प्रस्तुत गरिएका थिए । स्कुल थिएटरमा सहभागि बालबालिकाहरुले नै नाटक निर्देशन गरेका थिए । कलालयका अध्यक्ष सोनु जयन्तीले १५ वर्षअघि स्थापित संस्थाले बालबालिकाहरुको विकासलाई प्राथमिकता दिएको बताउँदै स्कुल थिएटरलाई आगामी दिनहरुमा अझ बृहत बनाएर लाने जानकारी दिए ।