विराटनगर । बुद्धशान्ती गाउँपालिकाको बुधबारेमा आयोजना भएको एक कार्यक्रमलाई पहिचानवादीले बिथोल्ने प्रयास गरेका छन् । नेकपा एमालेको आयोजनामा भएको कार्यक्रमलाई पहिचानवादीको नाममा बिथोल्ने प्रयास भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने  कार्यक्रमलाई  बिथोल्ने गरि पुगेका केही पहिचानवादीहरुले कार्यक्रम स्थलमा ढुङ्गा मुडा प्रहार  गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नेकपा एमालेले आयोजना गरेको कार्यक्षेत्र लक्षित गरि ढुङ्गा मुडा प्रहार गर्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने प्रयास गर्दा पहिचानवादीले प्रहरीलाई लक्षित गरि ढुङ्गा हानेको जानकारी दिए । पहिचानवादीले हानेको ढुङ्गा मुढाले लागेर दुई प्रहरी घाइते भएको पोखरेलले जानकारी दिए ।  प्रहरीले घटना हुन नदिनको लागि पहिचानवादीलाई त्यहाँबाट हटाउने प्रयास गर्दा केही बेर प्रहरीमाथि पहिचानवादीहरू जाई लागेका थिए ।  घटनामा घाइते भएका दुई जनालाई उपचारको लागि नजिकै रहेको अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।  घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।