काठमाडौँ । ९६ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले दुई जना महिला पत्रकारलाई सम्मान गरेको छ । दिवसको अवसर पारेर फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।
 भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दुई जनालाई सम्मान गरेका हुन । सम्मान कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले फोटो पत्रकारिता चुनौतीपूर्ण पेसा रहेको उल्लेख गर्दै पत्रकारको योगदानलाई सम्मान व्यक्त गरे । उनले पत्रकारहरूले खिचेको फोटोको अभिलेखालय स्थापना गर्न पहल गर्ने समेत बताए । 
सम्मानित पत्रकार उषा तितिक्षु नेपालको पहिलो महिला पत्रकार हुन । उनले २०४६ सालबाट स्वतन्त्र फोटो पत्रकारको यात्रा सुरु गरेकी थिइन् । उनले कैद गरिएका तस्बिरहरू नेपालमा मात्र नभएर नेपाल बाहिर पनि चर्चा कमाएका छन् । 
यस्तै पूर्णिमा श्रेष्ठ विगत एक दशक देखी फोटो पत्रकारिता गर्दै आएकी छिन् । श्रेष्ठ सफल हिमाल आरोही समेत हुन् । नेपालमा रहेका ८ हजार मि. माथिका हिमालहरू आरोहण पनि गरेकी छिन् । 
एनएफपिजेले उक्त कार्यक्रममा २०८० सालको भित्ते पात्रो विमोचन पनि गरेको थियो । कार्यक्रममा एनएफपिजेले आयोजना गरेको सेतो मच्छिन्द्रनाथ रथ जात्रा फोटो प्रदर्शनी, र पर्यटन फोटो प्रदर्शनीमा फोटो उपलब्ध गराएका फोटो पत्रकारहरूलाई पनि कदर –पत्रले सम्मान गरेको थियो । 
नेपालमा पहिलो पटक फोटोलाई समाचारका रूपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो । 
कार्यक्रममा एनएफपिजेका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले सम्पूर्ण फोटो पत्रकारहरूलाई एकजुट भएर सङ्घर्ष गर्न आह्वान समेत गरेका थिए ।