इटहरी । अहिले दैनिक जसो हुने सिरुवा मेलामा घोडाको आकृति भएको खेलौना जस्तो वस्तु सबैले चढाएको देख्नु भएको होला । तपाईँलाई आश्चर्य पनि लाग्न सक्छ, यो कागजको घोडा किन थानमा चढाएको भनेर ?
कागजको घोडा जस्तो देखिने वस्तु, फुल घडा हो । फुल घडा, फुलको घोडाको आकृति भएकाले यसको नाम अपभ्रंश हुँदै फुल घडा भएको हो । यो कागज हैन । यो त एक प्रकारको वनस्पति हो । विशेष गरी तराईका ठुला ठुला दह, पोखरी तथा सिमसार क्षेत्रका पानीमा उम्रने एक झार प्रजातिको वनस्पति हो । यसको नाम कोडेला हो । जलकुम्भी भने होइन । यो बेग्लै हुन्छ ।
कोडेला विशेष गरी तराईका सुनसरी, मोरङ र झापाका ठुला पोखरी, प्राकृतिक दह, सिमसार क्षेत्रका पानीमा उम्रने गर्दछ । यही ठुला दह पोखरीमा उम्रिएका कोडेलाका मोटा डाँठबाट फुल घडा बनाइन्छ ।
फुल घडाको धार्मिक महत्त्व
सुरुवात कहिले र कसरी भयो भन्ने यकिन छैन । तर विशेष गरी थारुका धामीले पूजा गर्दा तान्त्रिक विधि विधान अनुसार चढाउन थालेको कथन छ ।
आफ्ना देव देवतालाई भाकल गर्ने र त्यो पूरा हुँदा सो देव देवताको वाहन बनाएर चढाउने प्रचलन थियो । देव देवताका आ आफ्नै बाहान हुन्थे । घोडा, हात्ती, बाघ, सिंह आदि आदि ।
त्यो बेला बाहानहरु माटोकै बनाइन्थ्यो । तर पछि सबैले माटोको वाहन चढाउन छाडेपछि कोडेलाबाट फुल घडा बनाएर चढाउन थालिएको हो ।
देव देवतालाई खुसी बनाउन फुल घडा चढाउन थालिएको भन्ने जनविश्वास रही आएको छ ।
कोडेलाबाट कसरी बन्छ फुल घडा ?
पहिले पहिले तराईमा प्राकृतिक सिमसार, पानीका दह, पोखरीहरूमा प्रशस्तै झार वा कोडेला उम्रने र फुल्ने गर्दथ्यो । तराईका आदिवासी थारुहरूले कोडेलाबाट फुल घडा बनाएर थानमा चढाउने गर्दथे । कोडेलाका मोटा डाँठहरू टिप्ने र त्यसलाई घाममा सुकाउने । सुकेको कोडेलालाई चिर्ने । विभिन्न जनावरका आकारमा । चिरिएका टुक्रा टुक्रालाई घोडा, बाघ, हात्ती लगायतका देव देवताका बहानको स्वरूपमा जोड्ने । त्यसलाई आकर्षक बनाउन रातो रङ्ग लगाउने । एउटा बाँसको मोटो सिन्कामा उनेपछि फुल घडा तयार हुन्छ ।
इटहरीको खनार, दुहबी लगायतका भित्री गाउँहरूमा घरेलु रूपमा हातैले बनाउने गरिन्छ । थारुको विवाहमा लगाउने शिर मोर हुन्छ, त्यो पनि कोडेलाको डाँठबाटै बनाइन्छ । भगवानलाई चढाउने अन्य सामाग्री पनि कोडेलाबाटै तयार गरिन्छ ।
यो पहिले थारु समुदाय आफैले बनाउँथे । तर पछि फूलको रेखदेख गर्ने मालीहरूले बनाउन थाले । पेसाको रूपमा बनाउन थालेपछि थारुहरूले केही पारिश्रमिक दिएर बनाउन लगाउँथे । पछि यो प्रथा पनि टुटेर गयो । तर अहिले व्यवसाय भएको छ । तर भारतबाट ल्याएर किनबेच हुन्छ ।
तराईमा मासिएपछि भारतबाट आयात हुँदै
तराईमा पानीका प्राकृतिक स्रोतहरू नदी,पोखरी, पानीका दह, र सिमसारहरू मासिँदै गएका छन् । मानव अतिक्रमणले पानीका स्रोतहरू मासिएर बस्ती बसेका छन् । सिमसार मासिएसँगै कोडेला पनि मासिएको छ ।
सिमसार मासिए पछि कोडेला उम्रने कुरै भएन । तराईमा बिस्तारै कोडला लोप भयो । अहिले भेट्न मुस्किल पर्छ । भित्री गाउँ, मानिसको आबादी नभएको केही ठाउँमा अलि अलि देख्न सकिन्छ ।
तर भारतको विहार तर्फ सप्तकोशी नदीले बनाएका ठुला दहहरू छन्, जहाँ कोडेला प्रशस्तै उम्रिएको भेटिन्छ ।
पहिले पहिले सित्तैमा पाइने कोडेला अहिले भारतका ती क्षेत्रबाट खरिद गरेर ल्याउनुपर्छ । कच्चा पदार्थको रूपमा खरिद गरेर नेपाल ल्याइन्छ । त्यसैबाट फुल घडा तयार गरी विभिन्न ठाउँमा लाग्ने सिरुवा मेलामा लगेर बिक्री गरिन्छ । किनेर ल्याउनुपर्ने भएपछि फुल घडा महँगो पर्न थालेको छ ।
तश्विर : गुरु ढकाल