विराटनगर । तीन बिगाहा १० कट्ठा जग्गाको स्वामित्व लिन सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । मोहीको जग्गा पाउन सरकारी सही छाप गरेको अभियोगमा अघिल्लो प्रदेश सभा सदस्य खातुन जेल चलान भएकी हुन् । एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी पूर्व सांसद गुलेफन खातुन लामो समयदेखि फरार थिइन् । साबिक कदमाह गाविस–२ ९हाल कटहरी –९० मा मधुसुधनराज पाण्डेको तीन बिगाहा १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो । सो जग्गाको स्वमीत्व लिन सरकारी सही छाप किर्ते गरेको अभियोगमा दोषी ठहरिएपछि उनी फरार थिइन् ।
फरारको सूचीमा रहेकी खातुन शुक्रवार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । आत्मसमर्पण गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो ।
सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।
मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको उनलाई आरोप लागेको थियो । तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको छ ।
साबिक कदमाह गाविस–२ ९हाल कटहरी –९० मा मधुसुधनराज पाण्डेको तीन बिगाहा १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो सो मोही जग्गामा तीन विगाह १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो । उजुरी परेपछि जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् ।
उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उच्चको विरुद्धमा सर्वोच्चमा दोहोर्यइ पाउँ भनी दिएको निवेदनमा पनि सर्वोच्चबाट निस्सा नपाएपछि उनको सांसद पद खारेज भएको थियो । पद खारेज भएसँगै एमालेले उनको ठाउँमा शकुन्तला बस्नेतलाई प्रदेश सभा सदस्य बनाएको थियो ।