सुनसरी । युवा तथा बालबालिकामा लागूपदार्थ दुर्व्यसनीको बढ्दो जोखिम न्यूनीकरणका लागि सुनसरीको दुहबीमा सप्ताहव्यापी सचेतना अभियान सुरु गरिएको छ । दुहवीका विभिन्न विद्यालयका बालबालिकाहरूमा  लागूपदार्थको प्रयोग, यसले पुर्‍याउने असरका विषयमा सचेतना जगाउन अभियान सुरु गरिएको हो । 
दुहबी नगरपालिकाको आयोजनामा इलाका प्रहरी कार्यालय दुहबी र भूतपूर्व प्रहरी सङ्गठनको संयोजनमा सचेतना कार्यक्रम सञ्चालन हुनेछ । दुहबीका १२ वटा वडाका विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई लागूपदार्थको बारेमा सचेत जनाइनेछ । सचेतना कार्यक्रममा बहालवाला प्रहरी अधिकृत तथा भूतपूर्व प्रहरी अधिकारीहरूले लागूपदार्थको प्रयोग, त्यसले मानव स्वास्थ्यमा पार्ने शारीरिक तथा मानसिक असर, कानुनी कारबाही, द्धण्ड र सजायको व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिनेछन् । 
प्रत्येक वडामा कार्यक्रम सञ्चालन गर्दै त्यहाँबाट सुझाव सङ्कलन पनि गरिने इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए । समुदाय प्रहरी साझेदारी अन्तर्गत जनतासँग सहकार्य गर्दै दुर्व्यसनी  नियन्त्रणका लागि यो अभियान सुरु गरिएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए । 
Drog awareness_ duhabi 2
सचेतना अभियान वैशाख १५ गते एक कार्यक्रम गरी सुरुवात गरिएको थियो । कार्यक्रमलाई दुहबी नगरपालिकाका मेयर वेद गच्छदारले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मेयर गच्छदारले लागूपदार्थको प्रयोगलाई नियन्त्रण गर्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने, बाल अधिकार र मानव अधिकारको संरक्षण हुने साथै समाजमा शान्ति सुव्यवस्था कायम हुने बताए । 
सचेतना अभियान आगामी वैशाख २६ गते सम्म सञ्चालन गरिनेछ । कार्यक्रममा प्राप्त भएका सुझावका आधारमा थप कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।