विराटनगर । विराटनगरकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको विराटनगरमा मो रिजवान अन्सारी पक्राउ परेका छन् ।
२०७४ सालदेखि सोही भिडियो देखाउँदै सार्वजनिक गरिदिने धम्की दिँदै अन्सारीले बारम्बार किशोरीमाथि बलात्कार गरेको मोरङ प्रहरीको आरोप छ ।
ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ३० बर्सिया अन्सारी व्यापारी समेत हुन् । उनी चस्माको व्यापार गर्छन् ।
किशोरीको अश्लील भिडियो अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेको गरेका थिए । पीडितले किटानी जाहेरी दिएपछि अन्सारी पक्राउ परेका हुन् ।
ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
‘जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र देखाउँदै आएको अनुसन्धानका क्रममा खुलेको दाहालले बताए । ’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरु गरिएको छ ।’
बलात्कारको सिकारमा परेकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि बसेको थियो । उक्त गर्भ पतन गराएको पनि खुलेको छ ।
पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए ।
प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।