विराटनगर । प्रदेशको पुन नामकरण हुनु पर्ने माग राख्दै आन्दोलन गरिरहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएको छ । धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेपछि आन्दोलनकै बिचमा पार्टीमा विभाजन भएको हो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोंग सहितका नेता तथा कार्यकर्ताहरू पार्टी विभाजन गर्दै नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेका छन् ।
पार्टी विभाजन गरी नागरिक उन्मुक्त पार्टीसँग एकीकरण गर्नेहरूमा पार्टीका महासचिव अशोक चेम्जोंग, प्रान्तीय उपाध्यक्ष इन्दिरा मेन्याङ्वो प्रान्तीय उपाध्यक्ष एबी तुम्वाङग प्रान्तीय उपाध्यक्ष दिल कुमार लावती प्रान्तीय महासचिव शेसोहांग चोंङवाङग लगायत पूर्व जिल्ला अध्यक्षहरू रहेका छन् । विराटनगरमा भएको पार्टी एकीकरणमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन् । पार्टी विभाजन भन्दा पनि पहिचान पक्षधरको बृहत् शक्ति निर्माणका लागि आफूहरूले पार्टी एकीकरण गरेको ज्ञानबहादुर गुरुङले बताए । उनले पार्टी एकीकरणले पहिचान पक्षधरहरू एक भएको बताए ।
नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको मञ्चको असन्तुष्ट समूहले वैशाख १२ गते बसेको बैठक बसी अध्यक्ष कुमार लिंगदेनलाई पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् ।
वैशाख १७ गते निर्वाचन आयोगमा दिएको निवेदनमा कुमार लिंदेनलाई पदच्युत गरेको र लिंदेनको स्थानमा अध्यक्ष ज्ञानबहादुर गुरंगलाई बनाइएको दाबी गरिएको छ ।
लोकतान्त्रिक राष्ट्रिय मञ्चमा धरानमा भएको तेस्रो महाधिवेशन बाट विवाद सुरु भएको थियो । सो अधिवेशनमा प्रतिनिधि नै नभएकालाई अध्यक्ष कुमार लिंदेनले महिला उपाध्यक्ष बनाएको असन्तुष्ट समूहको आरोप थियो । यस्तै अध्यक्षले आर्थिक पारदर्शिता नदेखाएको पार्टीको विधान केन्द्रीय समितिबाट पास नगरेको समेत आरोप लगाउँदै आएका छन् ।
विवाद बढेपछि अध्यक्ष लिङ्देनले ८ जनालाई ४ महिना अघि कारबाही गरेका थिए । उनले पार्टीको युके कार्यसमितिका अध्यक्ष टङ्क खापुंग , पार्टीको सल्लाहकार चुणा तुम्बाहाम्फे,पदम चेम्वी मावो भूपेन्द्र मावो वसन्त चेम्वी मावो चन्द्रराज आङ्देम्वे लगायतलाई पार्टी हित विपरीत काम गरेको भन्दै कारबाही गरेका थिए ।