विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पत्रकार र पत्रकारिता क्षेत्रको विकासकोलागि संरचना बनाउने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले
दक्षता अभिवृद्धिका साथै पत्रकारको पेसागत तथा भौतिक सुरक्षा विना प्रेस स्वतन्त्रता पूणरुपमा कार्यान्वयन हुन नसक्ने बताए । उनले त्यसकालागि आवश्यक संरचना निर्माण गर्न र प्रेस स्वतन्त्रताको संरक्षणमा कोशी प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताए । नेपालमा प्रेस स्वतन्त्रतालाई जनताको मौलिक हककै रुपमा व्यवस्था गरिएको छ,, जारी शुभकामना सन्देशमा भनिएको छ, संवैधानिक रुपमा संरक्षण गरिएको प्रेस स्वतन्त्रतालाई व्यवहारिक रुपले कार्यान्वयनमा ल्याउन यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा सरकारले काम गर्दै आएको कुरा हामी सबैमा अवगत नै छ ।’ कोशी प्रदेश सरकारले पनि सञ्चार सम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको र त्यसलाई चाँडै नै अन्तिम रुप दिने काम भईरहेको उल्लेख गरेका छन् ।
सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाले घोषणा गरेपछि हरेकवर्ष अङ्ग्रेजी महिनाको मे ३ लाई विश्व प्रेस स्वतन्त्रतादिवसका रूपमा मनाउने गरिएको छ।