मोरङ । मोरङको बुढिगंगा गाउँपालिकाले सञ्चालन गरेका पूर्वाधार निर्माण तथा अन्य कार्यहरु जनमुखी नभएको र जनतालाई थप असहज अवस्था सृजना गरेको भन्दै नेकपा एमाले बुढिगंगा गाउँकमिटिले असन्तुष्टि जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।
बुधबार नेकपा एमाले बुढिगंगा गाउँकमिटि इन्चार्ज रिता न्यौपाने र सचिव अर्जुन बहादुर बोगटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरिराज भट्टराईलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका हुन ।
गाउँपालिकाले वडा तहबाट दिईने सिफारिस दस्तुर, मालपोत तथा भुमिकरको दायरा अवैज्ञानिक ढंगबाट निर्धारण गरि जनतालाई आर्थिक मारमा पारेको, सञ्चालनमा रहेका पालिका,प्रदेश र संघिय तहका योजनाहरुमा प्राविधिक मुल्यांकन नगरी कमसल सामाग्री प्रयोग गरिएको नेकपा एमाले बुढिगंगा गाउँ कमिटिले आरोप लगाएको छ ।
शिक्षा, स्वास्थ्य क्षेत्रमा अनावश्यक हस्ताक्षेप गरि विषय विज्ञसँग परार्मश नगरी ऐन नियमको नाममा राजनितिक गर्दै दुरुपयोग गरेको, गाउँपालिकामा बर्षेनी बेरुजु बढ्दै गएको विवरण महालेखाले सार्वजनिक गर्दा पनि बेरुजु उठाउन पहल नगरेको जस्ता ११ बुँदामा ध्यानाकर्षण पत्र बुझाईएको छ ।
बजेट तर्जुमा तथा राष्ट्रिय महत्वको योजनामा सर्वपक्षिय बैठक बोलाउनुपर्ने, पालिकाले वितरण गर्ने विभिन्न अनुदानहरु पारर्दशि बनाउनुपर्ने र वास्तविक कृषक सम्म पुर्याउनुपर्ने माग राखिएको छ ।
ज्ञापन पत्र बुझाउँदै एमाले इन्चार्ज रिता न्यौपानले उठाएका मागको सम्बोधन नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएकी छिन् । गाउँपालिकाले यथाशिघ्र मागको विषयमा सम्बोधन नगरे कठोर निर्णय लिन बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।