सुनसरी  सशस्त्र प्रहरीले सोमबार ६६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान र सवारी साधन बरामद गरेको छ ।

सुनसरीका  बिभिन्न ६ स्थानमा एकै दिन चेकजाँच र छापामारी गर्दा यतिका सामान र सवारी साधन नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सो क्रममा दुई वटा ट्रक, एक मारुती भ्यान, एक पिकअप भ्यान र दुई मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

सवारी साधनहरू कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा र बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको सशस्त्रले जनाएको छ ।

 सुरक्षा वेस क्याम्प धरानबाट खटिएका सुरक्षाकर्मीले दुई ट्रक, एक मारुती र एक भ्यानमा बिलबिजक बिनाका बिभिन्न सामान बरामद गरेको थियो ।

बिभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा चार वटा सवारी साधनमा लोड गरिएको ५ लाख ३१ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको सशस्त्रले जनाएको छ । यस्तै जिल्ला गणले १२ लाख ८१ हजार रुपैयाँ बराबरको बिभिन्न खाले सामान बरामद गरेको छ । सीमा सुरक्षा गुल्म कप्तानगञ्जले ९ लाख रुपैयाँ बराबरको कपडा र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बोर्डर आउट पोष्ट घुस्कीको गस्तीले भारतबाट नेपाल तर्फ तस्करी गरेर ल्याउँदै गरिएको एक लाख रुपैयाँ बराबरको मोटर पार्टस् नियन्त्रणमा लिएको छ । यसैगरी भारतबाट अबैध रुपमा ल्याइएको ६९ हजार रुपैयाँ बराबरको किराना सामान बोर्डर आउटपोस्ट अमडुवाका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।