विराटनगर । विराटनगर महानगरपालिकाले खुल्ला  माछामासु बिक्री बितरणमा रोक लगाएसँगै अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुल्ला रुपमा बिक्री गर्न रोक लगाएको महानगरले सटरमा सञ्चालित पसलको समेत अनुगमन गरेको छ ।  पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार विराटनगरको रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको हो । 

टोलीले पसलको दर्ता, नवीकरण, फोहोर व्यवस्थापनको सदस्य भए नभएको, मासु पसल सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा भए नभएको लगायतका विषयमा समेत अनुगमन गरेको थियो । 

कतिपय पसलले जिउँदो कुुखुरा र बिक्री कक्ष नजिक राखेकाले सुधार्न टोलीले निर्देशन दिएको छ । उपभोक्ताले सफा, सुग्घर र ताजा मासु उपभोग गर्न पाउन् भन्ने उद्देश्य राखेर महानगरले अनुगमनलाई तीव्रता दिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए ।  महानगरले माछामासुको पसल अनुगमन गरेर राम्रो कार्य गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । अनुगमन टोलीमा महानगरको नगर प्रहरीका प्रमुख राजन पौडेललगायतको सहभागिता रहेको थियो ।