इटहरी । इटहरी अस्पतालको गुणस्तर वृद्धि र विशिष्टीकृत स्वास्थ्य संस्थाको स्थापना गर्नुपर्ने इटहरीका सरोकारवालाहरूले माग गरेका छन् ।
इटहरीमा पछिल्लो १० वर्षमा तीव्र गतिमा जनसङ्ख्या वृद्धि भए पनि सो अनुपातमा स्वास्थ्य सेवाको विकास सुस्त भएको बारे इटहरीवासीले चिन्ता व्यक्त गरेका छन् ।
शनिवार(आज) इटहरीको स्वास्थ्य भविष्य, गुणस्तरीय स्वास्थ्य सेवामा आत्मनिर्भरता विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरूले भोग्नु परेको समस्या र भविष्यमा इटहरीको स्वास्थ्य बारे आफ्ना योजना सुनाएका छन् ।
लायन्स क्लब अफ इटहरी र ‘योगदान राष्ट्रका लागि’ संस्थाको आयोजना गरेको हो । अन्तर्क्रिया कार्यक्रममा युवा अगुवा डिल्ली आचार्यले इटहरीमा डायलाइसिस मेसिन भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । आचार्यले डायलसिस मेसिन छोपेर राख्न १५ लाख रुपैयाँ खर्च गरिएको तर सञ्चालनमा ल्याउन स्थानीय सरकारले चासो नदिइएको बताए ।
नरबहादुर कर्माचार्य पोलिटेक्निक इटहरीका अध्यक्ष निर्मल बरालले आधारभूत स्वास्थ्य सेवा तथा कतिपय औषधीहरू निःशुल्क भए पनि सबै नागरिकसम्म प्रभावकारी रूपमा नपुगेको बताए ।
स्थानीय नेता रमेश खत्रीले इटहरी अस्पतालको सेवा तथा व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको बताए । अस्पतालको एक्स–रे मेसिन बिग्रिएर लामो समयसम्म मर्मत नभएको, आधारभूत तथा स्वास्थ्य बीमाले समेटेका औषधिसमेत उपलब्ध नहुने अवस्था रहेको बताए ।
लायन्स क्लब अफ इटहरी एक्टिभका अध्यक्ष बलबहादुर न्यौपानेले इटहरी अस्पतालको भवन र सेवा क्षमता विस्तार गर्नुपर्ने बताए । अस्पतालमा रहेका उपकरणहरू प्रयोगविहीन भएर थन्किनु दुःखद भएको बताउँदै अस्पतालको सुधारका लागि सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्ने बताए ।
अन्तर्क्रिया कार्यक्रममा इटहरीको स्वास्थ्यसम्बन्धी दीर्घकालीन योजना निर्माणमा आफूहरू सक्रिय रहेको डा. खगेन्द्र ओलीले जानकारी दिए ।
कार्यक्रमको सुरुवातमा कार्यपत्र प्रस्तुत गर्दै उनले विगतका अभ्यास, तथ्याङ्क तथा सर्वेक्षण नतिजाको विश्लेषण र विज्ञहरूको सुझावका आधारमा दीर्घकालीन योजना बनाउने र सार्वजनिक गर्ने बताए । तयार गरिने योजनाको आधारमा स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थालाई नीति बनाउन सजिलो हुने स्पष्ट पारे ।
स्वास्थ्य सेवा सुधारका के आए योजना ?

रेडक्रस उपशाखा इटहरीका सभापति दिनेश भट्टराईले इटहरीमा ब्लड बैङ्कको अभाव रहेको बताउँदै उपमहानगरको सहयोग प्राप्त भए छोटो समयमै रक्तसञ्चार केन्द्र स्थापना गर्न सकिने बताए ।
नागरिक समाजका पूर्व अध्यक्ष राजु केसीले स्वास्थ्यलाई पर्यटनसँग जोडेर विशिष्टीकृत अस्पताल विकास गर्न सकिने धारणा राखे । इटहरीमा इमर्जेन्सी मेडिसिनमा दक्ष जनशक्तिको अभाव रहेको बताए । आफूहरूले इमर्जेन्सी सेवाको विस्तारका लागि तालिम सञ्चालन गरेको भए पनि स्थानीय सरकारले प्राथमिकता नदिएको बताए ।
नागरिक अगुवा रामप्रसाद चौलागाईंले इटहरीमा शिक्षण अस्पताल सञ्चालन गर्न सकिने बताए । नगरपालिकासँग स्रोतको अभाव भन्दा पनि योजना र सृजनशील नेतृत्वको अभाव रहेको बताए । इटहरीमा पछिल्लो १० वर्षमा ५० हजार मानिस मात्र बढेको तर जनसङ्ख्यासँगै विकासको गति सुस्त भएकोमा उनले चिन्ता व्यक्त गरे ।
इटहरी उपमहानगरपालिकाका पूर्व कार्यकारी अधिकृत गणेश दाहालले स्थानीय तहले स्वास्थ्यलाई विकासको पहिलो प्राथमिकतामा राख्नुपर्ने, स्वास्थ्य बीमाको पहुँच विस्तार गर्नुपर्ने तथा औषधिको गुणस्तरमा कडाइ गर्नुपर्नेमा जोड दिए । उनले औषधि खरिद प्रक्रियामा अत्यधिक कम मूल्यमा ठेक्का दिने प्रवृत्तिले गुणस्तरमा प्रश्न उठेको भन्दै प्रभावकारी अनुगमन र दण्ड व्यवस्थाको आवश्यकता औँल्याए ।
नेपाल औषधी व्यवसायी सङ्घकी संगीना चौधरीले अधिकांश फार्मेसीमा योग्य फार्मासिस्टको अभाव रहेको र लाइसेन्स भाडामा दिने प्रवृत्ति अझै कायम रहेको बताइन् । बिरामीले गुणस्तरीय परामर्श सेवा नपाएको उल्लेख गर्दै समुदाय स्तरको औषधि सेवा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
नेपाल आयुर्वेद औषधी व्यवसायी सङ्घका जी.के. पोखरेलले आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेद, योग र प्राकृतिक उपचारलाई पनि एकीकृत रूपमा विकास गर्नुपर्ने बताए । विश्व ‘ब्याक टु नेचर’ अवधारणातर्फ गइरहेको भन्दै इटहरीमा वेलनेस सेन्टर स्थापना गर्न सकिने सम्भावना देखाए ।
स्थानीय सूर्य चम्लागाईंले होमियोप्याथी उपचार प्रणालीको अध्ययन गर्नुपर्ने, अटिजम भएका बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने तथा विद्युतीय शव दाह गृह निर्माण गर्नुपर्ने सुझाव दिए । इटहरी अस्पताललाई साझेदारी मोडलमा ‘इटहरी सिटी अस्पताल’ का रूपमा विकास गर्न सकिने बताए ।
इटहरी जेसिसका रोशन भुजेलले बिरामीको डिजिटल अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने तथा ज्येष्ठ नागरिकका लागि घरमै पुगेर सेवा दिने कार्यक्रम सञ्चालन गर्न माग गरे
औषधी व्यवसायी सङ्घका नवीनराज गौतमले नयाँ अस्पताल निर्माण भन्दा विद्यमान संस्थाहरूको स्तरोन्नति र सेवाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य क्षेत्रका लागि स्थानीय सरकारले स्पष्ट रोडम्याप तयार गर्नुपर्नेमा उनले जोड दिए ।
















