विराटनगर । झापामा जापनिज इन्सेफेलाइटिस (मस्तिष्क ज्वरो ) को सङ्क्रमण फैलिएको छ ।  सङ्क्रमण फैलिएसँगै झापा जापनिज इन्सेफेलाइटिसको सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिकामा दुई जना, बिर्तामोड नगरपालिकामा एक जना, अर्जुनधारा नगरपालिकामा एक जना, बाह्रदशी गाउँपालिकामा एक जना र हल्दीबारी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासले  झापामा जापनिज इन्सेफेलाइटिस सङ्क्रमणबाट हुने मृत्युदर ६० प्रतिशत पुगेको छ । सङ्क्रमण र मृत्युदर उच्च भएकाले पहिलो चरणमा झापालाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको हो । जेई मस्तिष्कमा असर गर्ने भाइरल सङ्क्रमण हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुन सक्छ भने बाँच्नेहरूमध्ये आधा सम्ममा गम्भीर तथा दीर्घकालीन अपाङ्गता हुन सक्ने जोखिम हुन्छ । 

नेपालमा पछिल्लो छ सातामा मात्रै कम्तीमा २१ जनाको जेई सङ्क्रमणबाट मृत्यु भएको छ भने ५९ जना सङ्क्रमित भएका छन् ।  कोशी प्रदेशमा २४ जनामा सङ्क्रमण देखिएकामा १० जनाको मृत्यु भएको छ । 

झापामा जापनिज इन्सेफेलाइटिस (मस्तिष्क ज्वरो )  प्रकोप फैलिए पछि झापामा पाँच लाख जनालाई खोप लगाउने तयारी थालेको छ।  भदौको अन्तिम साता वा असोजको पहिलो सातादेखि खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको दासले बताए ।