इटहरी । सुनसरीको रामधुनी वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालय कक्षा ३ मा नौ वर्षे सविरा खातुन पढ्छिन् । केही महिना अघिसम्म उनी पढाइमा कमजोर थिइन् । उनलाई विद्यालयमा पढाएको विषयवस्तुबारे सोध्दा शिक्षकलाई पुलुक्क हेर्थिन, त्यसपछि भुईँ हरेर टोलाउँथिन् ।
यति बेला उनको पढाइमा निकै सुधार भएको छ । यो ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरी द्वारा सञ्चालित सुधारात्मक कक्षाको नतिजा हो । अहिले उनलाई पढाई लगतै केही कुरा सोध्दा फटाफट भन्छिन् । कक्षा ३ को नेपाली विषयको पहिलो पाठ पढ्न लगाउँदा सुरुदेखि अन्तिमसम्म गल्ती नगरीकन पढ्छिन् । त्यसपछि उनले आफै भनिन, ‘अहिले टियूसन पढ्न थालेपछि त म निकै जान्ने भएकी छु ।’ उनको छ महिनामै पढार्ईंमा सुधार हुनुका कारण थोरै गहिरिएर खोतल्न खोज्दा घरमा पढ्दै पढ्दिनन् । ‘घरमा काम गर्दा गदै ठिक हुन्छ,’ उनले भनिन, ‘टियूसन पढ्न थालेपछि भने होमवर्क पनि गर्न थालेको छु ।’
उनको घरमा घरायसी काम बग्रेल्ती हुने गर्छ । बाबु मोहम्मद जडीबुटी विक्री गर्न गाउँ गाउँ डुल्छन् । घरमा बुढेसकाल लागेका हजुरबुबा र हजुरआमा काम गर्न सक्दैनन् । दिदीको विवाह भई सकेको छ। अनि बहिनी पनि सानै छिन् । घरमा आमा सविनालाई भ्याई नभ्याई हुने गर्छ । आमा सविनालाईं काम सघाउँदा उनले पढ्ने मौका नै पाउँदिनन् ।
उनकी बहिनी जसमीन पनि बाल विकासमा पढ्छिन् । बहिनी पनि सुधारात्मक कक्षामा पढ्ने जाने गर्छिन् । जसले गर्दा दिदीबहिनीकै पढाइमा निक्के सुधार आएको छ ।
सविरा र जसमीनजस्तै सुधारात्मक कक्षा शिक्षणबाटै यस वर्ष कक्षा ४ मा पुगेका सोही विद्यालयकी अरविन चौधरी एवम् सुजाता कोइराला पनि अचेल पुरै खुलेर आफ्नो कुरा राख्न सक्ने भएका छन् । ‘टियूसन कक्षाले मलाई निकै फाइदा पुग्यो,’ सुजाताले खुसी हुँदै भनिन, ‘अब कक्षा ४ मा पुगेपछि पनि टियूसन कक्षा भए धेरै राम्रो हुने थियो ।’
जनता माध्यामीक विद्यालयले अत्यन्तै कम शैक्षिक उपलब्धि भएका कक्षा तीनसम्मका विद्यार्थीलाई विद्यालय समयअघि दैनिक एक घण्टाका दरले उपचारात्मक शिक्षण सञ्चालन गर्दै आएको छ । ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) ले प्लान इन्टरनेशनल नेपाल मार्फत उपचारात्मक शिक्षणका लागि सहयोग गरेको छ ।
स्कुलका शिक्षक र साथीहरूसँग नबोल्ने विद्यार्थीहरू उपचारात्मक शिक्षणपछि मनका कुरा भन्न थालेको शिक्षिका सुप्रभा घिमिरेले बताइन् । ‘मुख्य कुरा त उनीहरूलाई अतिरिक्त कक्षामा विद्यालय समयमा सिकाएको विषयवस्तुबारे उत्तर भन्न प्रोत्साहित गरे । र, अन्य अतिरिक्त विषयहरूमा अगाडि बोलाएर पालैपालो बोल्न लगाउँदा निकै सुधार हुन पुग्यो,’ उनले भनिन् । उनले विद्यार्थीको शैक्षिक स्तर पहिचान गरेर सोही अनुसारको व्यवहार पनि गरिन् । सबै विद्यार्थीका लागि उनीहरूको क्षमता अनुसार विषयवस्तुलाई प्रस्ट पार्ने योजना बनाएर अघि बढिन् ।
रामधुनी वडा नं. ७ कै पञ्चायत माध्यमिक विद्यालय कुमारखतमा उपचारात्मक शिक्षण सहयोग अनुसार विद्यार्थीहरूले नेपाली भाषाका साधारण वाक्य पढ्न सक्छन् । जोड, घटाउ, गुणन र भाग समावेश भएका दैनिक जीवनका गणितीय समस्या समाधान गर्न सक्छन् । उपचारात्मक कक्षा लिएर यो वर्ष कक्षा ४ मा पुगेकी सरस्वती बस्नेतले भनिन, ‘मलाई त पहिला नाम पनि मज्जाले लेख्न आउँदैन थियो, अब त धेरै नै जान्ने भएकी छु ।’
सोही विद्यालय कक्षा ४ मै पढ्ने समीक्षा दंगाल सक्षमता कक्षा तीन बराबरकै छ । सो विद्यालयमा पढ्ने धेरै विद्यार्थीको सिकाई स्तर कमजोर नै छ । हुन त यस क्षेत्रमा अभिभावकहरू पनि आफ्ना सन्तानलाई पढ्ने वातावरण तयार गर्नेको संख्या सीमित छ । आर्थिक अवस्था दयनीय भएका परिवारका छोराछोरी पढ्ने विद्यालयमा साना कक्षामा धेरैजसो विद्यार्थी अनुपस्थित हुनाले गर्दा पनि सोचे अनुसार शिक्षणमा सुधार गर्न नसकिएको सुधारात्मक कक्षा शिक्षणमा खटिने शिक्षक गीता खनालले बताइन् ।
‘पढ्नै नमान्ने बालबालीकाहरुलाई पढ्ने संस्कारको त विकास भएको छ, तर अझै पनि सोचे अनुसार उपलब्धि प्राप्त हुन चाहिँ सकेको छैन,’ उनले भनिन् । यो विद्यालयमा पढ्ने विद्यार्थीमध्ये कक्षा ६ भन्दा माथिका २५ प्रतिशत हाराहारी दैनिक ज्याला मजदुरीदेखि अन्य काम गर्न जाने गरेको पाइएको छ। ‘आर्थिक अवस्था दयनीय भएका विद्यार्थी भएकैले यस्तो समस्या भएको हो,’ विद्यालयका प्रधानाध्यापक शंकर लुइँटेलले भने ।
रामधुनी वडा नं. २ कै शिवनगर माध्यमिक विद्यालयका प्रकाश मोची त उपचारात्मक कक्षामा पढेपछि कक्षा २ बाट उत्तीर्ण हुँदा प्रथम नै भए । ‘मलाई टियूसन कक्षामा त धेरै राम्रोसँग मिसले पढाउनुभयो, फस्ट भए,’ उनले भने, ‘अब सधैँभरि फस्ट हुने गरी पढ्नेछु ।’ उपचारात्मक कक्षा शिक्षण गर्ने शिक्षकका अनुसार खास गरेर विद्यार्थीहरू सानो कक्षाका धेरैजसो समय अनुपस्थित हुने गरेकोमा घर–घरमा गएर अभिभावकलाई सम्झाएर नियमित पढ्न पठाएपछि सुधार भएको हो ।
‘यो उपचारात्मक शिक्षणमा भने अनिवार्य उपस्थित हुनुपर्ने नियम लगाएपछि विद्यार्थीमा पढाइमा सुधार आयो,’ शिवनगर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रञ्जित चौधरीले भने । उनका अनुसार केही वर्षअघि कक्षा ९ र १० का विद्यार्थीका लागि उपचारात्मक शिक्षण गरिएको थियो । त्यसबाट पनि राम्रो उपलब्धि भएको थियो । अहिले कक्षा ९ र १० मा उपचारात्मक शिक्षण छैन, त्यसको सट्टा आरएसडिसीको सहयोगमा कक्षा ३ सम्म संचलीत छ ।
खास गरेर शिक्षण सिकाइ पश्चात् सहजै सिकाइमा पछाडि पर्नुको प्रमुख कारणमा विद्यार्थीको जन्मजात सिकाइ कमजोरी नभएर परिस्थितिजन्य हो । यही कुरालाई ख्याल गरेर आरएसडिसीले रामधुनी नगरपालिका क्षेत्रका तीन वटा सामुदायिक विद्यालयमा सुधारात्मक शिक्षणको व्यवस्था मिलाइएको कार्यक्रम संयोजक शिखा किरणले बताइन् ।
उनका अनुसार रेमेडियल कक्षाको मुख्य उद्देश्य नै बालबालिकाहरूको पठन सिप मापन गरी वृद्धि गर्ने हो र यो मापन गर्ने विधि कक्षा आधारित प्रारम्भिक ग्रेड पठन मूल्याङ्कनद्वारा गरिन्छ । ‘जसमा कक्षा १,२ र ३ को विद्यार्थीले एक मिनेटमा ३०, ४५ र ६० शब्द पढ्नु पर्ने हुन्छ । यस विधिबाट मापन गर्दा कमजोर रहेका विद्यार्थीहरूको पठन सीप वृद्धि गर्न यो उपचारात्मक कक्षा सञ्चालन गरिएको हो,’ संयोजक शिखा किरणले भनिन् ।
यो कक्षा सञ्चालन गर्न शिक्षकहरूलाई तालिम पनि प्रदान गरिएको छ । प्लान ईन्टरनेशनल नेपालले बालबालिकाले प्रत्यक्ष लाभ र गुणस्तरीय शिक्षा प्रवर्द्धनका निम्ति बालबालिकाहरूको पठनशिप सम्बन्धी कार्य गरिरहेको छ ।
शिक्षकले कक्षाकोठाको सिकाइमा धेरै विद्यार्थीले सिक्ने र पढ्ने शैलीलाई सहजीकरण गर्दागर्दै पनि कमजोर भएका विद्यार्थीलाई छानेर एक घण्टाको विद्यालय लाग्ने समयअघि वा पछि मिलाएर शिक्षण गर्ने गरिएको छ ।
रामधुनी क्षेत्रका सामुदायिक विद्यालयमध्ये विशेषतः गरिबी, अभाव, कमजोर शैक्षिक एवम् पारिवारिक पृष्ठभूमि भएका विद्यार्थी पढ्ने गरेकाले पनि उपचारात्मक शिक्षण सिकाइ बढी प्रभावकारी हुँदै गएको छ ।।