सुनसरी । सीमा आभासको नयाँ उपन्यास महायुगमाथि इटहरीमा विमर्श कार्यक्रम आयोजना गरिएको छ । 

भर्खरै बजारमा आएको उपन्यासका विषयमा इटहरीमा विमर्श गरिएको हो । शनिबार सञ्चारिका समूह सुनसरीले आयोजना गरेको कार्यक्रममा कविद्धय मनु मञ्जिल र टीका आत्रेय र  समालोचक डा. अस्मिता विष्टले पुस्तकका बारेमा धारणा राखे ।


कार्यक्रममा पुस्तक माथी बोल्दै कवि टिका आत्रेयले महायुगभित्रका हरेक पात्रहरू आफैमा विश्वविद्यालय रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘महायुगभित्रका हरेकजसो पात्रहरू विश्वविद्यालय हुन् । यहाँ उदृत गरिएका पात्रहरूको भूमिकाले उपन्यास सशक्त बनेको छ ।’


पुस्तकको विषयवस्तु माथी आफ्नो धारणा राख्दै समिक्षक डा. अस्मिता विष्टले नारीको सृजनालाई पुरुषले कब्जा गरेको टिप्पणी गरिन् । महिलाहरुको सृजनालाई आफ्नो भन्दै पुरुषहरुले कब्जा गरिएको बताइन् । 

यो पुस्तकले ती पुरुषहरुको सत्ता भत्काउन महिलाहरुको शक्ति स्थापित गर्ने प्रयास गरेका कारण यो महिलावादी पुस्तक भएको बताइन्  ।

यस्तै कवि मनु मञ्जिलले उपन्यासमा लेखकको कल्पनाशक्ति प्रचुर रहेको बताए । लेखकको कल्पनाको उडानले नयाँ महायुगको सृजना गरेको बताए । 

उनले भने, ‘नारी भाषालाई जगाउनका लागि शक्ति आर्जन गनुपर्नेरहेछ । लेखक आभासले महायुगमा त्यो शक्ति सञ्चय गर्नुभएको छ ।’

कार्यक्रमको दोस्रो सेसनमा लेखकसँगै पुस्तकका विषयमा विमर्श गरिएको थियो । जसको समन्वय प्रज्वल पराजुलीले गरेका थिए । कार्यक्रममा उपस्थित भएका साहित्यप्रेमीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको लेखक आभासले सम्बोधन गरेकी थिइन् । 


कार्यक्रम सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमलाई महासचिव ज्योति पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।