इटहरी । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति अब इटहरी उपमहानगरपालिकाबाटै लिन सक्ने भएको छ । इटहरी उपमहानगरपाालिकाले सुचना प्रकाशित गरी श्रम स्वीकृति लिन सकिने जनाएको छ ।

 वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले इटहरी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत आवेदन दिन सकिने उपमहानगरले जनाएको छ । बैशाख २१ गते एक सुचना प्रकाशित गरी उपमहानगरले अनलाईन आवेदन दिन सकिने बारे जानकारी दिएको हो । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर परिपत्र गरी बैशाख १ गतेबाट स्थानिय पालिकाको रोजगार सेवा केन्द्रबाटै श्रम स्वीकृति लिन सकिने बताएको थियो । सोही अनुसार इटहरी उपमहानगरपालिकाले पनि रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृतिको काम सुरु गरेको इटहरी उपमहानगर रोजगार सेवा केन्द्रकी सोनु खनालले जानकारी दिईन । बैशाख १ गतेबाट नै सुर गर्ने भनिए पनि आवेदन दिन नआएका कारण काम भने भएको थिएन । 

पुनः सुचना जारी गरेपछि भने आवेदन आउन सुरु भएको खनालले जानकारी दिईन । हाल सम्म ३ जनाले आवेदन दिएको मध्ये २ जनाले स्वीकृति लिईसकेका छन भने एक जनाको आज बेलुका सम्म हुने खनालले जानकारी दिईन । 

 श्रम स्वीकृतिको काम इटहरी उपमहानगरबाटै हुन्छ भन्ने जानकारी नभएर आवेदनका लागि नआउने गरेको रोजगार सेवा केन्द्रले जनाएको छ ।वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले इटहरीबाट सहजै श्रम स्वीकृति लिन सकिने सेवा केन्द्रले जनाएको छ । 

वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अब काठमाण्डौँ जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।।