सुनसरी - सुनसरी प्रहरीले सर्वसाधरण नागरिकलाई सहजरुपमा सेवा प्रवाह उपलब्ध गराउन मातहतका प्रहरी इकाईहरुमा डियुटी ब्यवस्थापनका साथ नागरिक सहयोगी प्रहरी समेतको डियुटी खटाई सेवा सुरु गरेको छ । अझै पनि सुरक्षा र न्यायमा सर्वसाधरण नागरिकको सहज र सुलभ पहुँच पुग्न नसकेको जनाउदै यसलाई बृद्धी गर्न नागरिक सहयोगी प्रहरी कार्यक्रम ल्याइएको सुनसरी प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयaन गर्ने निकायका रूपमा आफूलाई नागरिकमाझ स्थापित गर्दै प्रहरी र नागरिकबिचको अन्तर सम्बन्ध कायम गर्न जिल्लाका सबै युनिटहरुमा यो सेवा दिन थालिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

नागरिक सहयोगी प्रहरीले सेवा लिन आउने सेवाग्राहीलाई शिष्ट र सभ्य भाषा प्रयोग गर्दै प्रहरीले दिने सेवाको बारेमा जानकारी गराउने छन । अशक्त, अशाहय, जेष्ठ नागरिक र बालबालिकाहरुलाई छिटो छरितो सेवा प्रवाहको लागि जिम्मेवार ब्यक्ति समक्ष पुर्याउने, प्रहरीले दिने सेवा प्रवाह प्रभावकारी भए नभएको जानकारी दिने काम पनि नागरिक सहयोगी प्रहरीले गर्ने प्रहरी उपरिक्षक ढकालले बताए । 

    यसैबिच सुनसरी प्रहरीले जिल्ला प्रहरी कार्यलयमा सेवा लिन आउने सेवाग्राहीको सुबिधाको लागि फ्रि वाईफाईको सुबिधा उपलब्ध गराएको जनाएको छ । सुनसरी प्रहरीले पछिल्लो समयमा नेपाल प्रहरीले नागरिक र स्थानीय समुदायसँग साझेदारी गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको समेत जनाएको छ ।

यी कार्यक्रममले प्रहरी र जनताबीच विभिन्न क्रियाकलाप मार्फत आपसी समझदारी कायम गर्दै साझेदारीको अवधारणा अभिबृद्धी गर्ने सुनसरी प्रहरीको दाबी छ ।