काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । कांग्रेस नेता खाण चाबहिल, मैजुबहालस्थित निवासबाट बुधबार बिहान पक्राउ परेका हुन् ।  उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाण पक्राउ परेका हुन् । यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपसमेत पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री खाणले शरणार्थी प्रकरणमा मानिसहरु अमेरिका पठाउन मन्त्रीस्तरबाट निर्णय गरेर ताकेता गरेको प्रमाणसमेत यसअघि नै सार्वजनिक भइसकेको छ । 

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा इन्द्रजित राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राऊ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा दोषी देखिएपछि पूर्वगृहमन्त्री खाण समातिएका हुन् ।