इटहरी । तिन पाङ्ग्रे(इ रिक्सा) अब स्थानीय पालिकामै दर्ता र नवीकरण हुने भएको छ । आगामी जेठ १ गतेबाट इटहरी उपमहानगरपालिका भित्र सञ्चालन हुने तिन पाङ्ग्रे(इ रिक्सा) उपमहानगरमै दर्ता गर्नुपर्ने भएको छ । 
इटहरी उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै तिन पाङ्ग्रे(इ रिक्सा) सवारीलाई दर्ता तथा नवीकरण गर्न आह्वान गरेको छ । इटहरी उपमहानगरपालिका भित्र सञ्चालन गर्न पाउने गरी तिन पाङ्ग्रे(इ रिक्सा) सवारीको दर्ता र नवीकरण गर्ने जनाएको हो । 
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ र प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०७७ को नियम ४मा तिन पाङ्ग्रे(इ रिक्सा) सम्बन्धी सम्पूर्ण कार्यहरू स्थानीय तह बाट सञ्चालन गर्ने व्यवस्था बमोजिम इटहरी उपमहानगरपालिकाले तिन पाङ्ग्रे(इ रिक्सा)को दर्ता, नवीकरण र नामसारी गर्ने बताएको छ । 
यस अघि यातायात व्यवस्था कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका तिन पाङ्ग्रे(इ रिक्सा)इ रिक्साहरूले स्थानान्तरण पत्र लिएर पालिकामा दर्ता गर्नुपर्ने इटहरी उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत राम चरित्र मेहताले जनाएका छन् । 
यस अघि यातायात व्यवस्था कार्यालयमा दर्ता भएर सञ्चालन गर्दै आएका थिए । तर प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गर्दै तिन पाङ्ग्रे(इ रिक्सा) का सम्बन्धमा छुट्टै कानुन निर्माण गरे पछि सम्पूर्ण अधिकार स्थानीय तह अन्तर्गत आएको छ । 
इटहरी चौरस्ता चौक भएका कारण यहाँ इनरुवा, रामधुनी,विराट चौक,दुहबी लगायतका नगरमा दर्ता भएका तिन पाङ्ग्रे सिटी सफारीहरू यहाँ आएर सञ्चालन हुने गरेको छ । इटहरीमा सिटी सफारीको सङ्ख्या धेरै भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको गुनासो हुँदै आएको छ । 
तीन पाङ्ग्रे (ई-रिक्सा) दर्ता, नविकरण, नामसारी सम्बन्धि सूचना