झापा । झापाको मेचीनगर नगरपालिका र दमक नगरपालिका दुई स्थानबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थितमा चेक जाँचको क्रममा मे। १० प ६९०७ नम्बर को मोटरसाइकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका ५ का २६ वर्षीय दीपक लोक्सम र भारत दिनापुरका २५ वर्षीय रञ्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी दमक नगरपालिका ३ का ३२ वर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगर सहित प्रहरी चौकी बाघ खोरको प्रहरी टोलीले पक्राउ गरेको छ भने दमक ९ का २२ वर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।