विराटनगर । मोरङको डंग्राहाका एक युवाले बिभिन्न माग राख्दै हाई टेन्सन लाइनको पोलमा चढेका छन् । गाउँपालिको विकासमा अनियमितता भएको तथा वडामा निर्माण हुँदै गरेको रिटेनिङ वालमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै त्यो भत्काउनु पर्ने माग सहित हाईटेन्सनलाईनको पोलमा चढेका हुन् । बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय दिनेश कुमार माझी (भठालु) बिहान ६ बजेदेखि हाईटेन्सनलाईनको पोलको टुप्पोमा बसेर गुणस्तरहीन काम रोक्न माग गरिरहेका छन् । रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइन क्षमता रहेको पोलको टुप्पोमा बसेर उनले स्थानीय सरकार र वडा अध्यक्षलाई दवाव दिएका हुन् ।
गाउँपालिकाका जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले आफ्नो माग सम्बोधन नगरे आत्मदाहको चेतावनी दिएका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदारलाई आफ्नो मागहरु सुनाउँदा समेत बेवास्ता गरेपछि उनले यस्तो निर्णय लिएको स्थानीयले बताएका छन् । आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन । बिहान ६ बजे हाई टेन्सन लाइनको पोलको टुप्पोमा पुगेर बसेको भए पनि त्यहाँ पालिकाका अध्यक्ष थापामगर तथा उपाध्यक्ष गच्छदार समेत अहिलेसम्म पुगेका छन् । बुढीगंगा वडा नम्बर ७ को कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको वडा अध्यक्ष पंकजकुमार चौधरीले जानकारी दिए । युवाले गरेको गतिबिधिको बारेमा पालिकाका अध्यक्ष र उपाध्यक्षलाई जानकारी गराइएको भए पनि उनीहरूले बेवास्ता गरेको चौधरीले बताए । अहिले विकास निर्माणको काममा गुणस्तरहीन काम भएको तथा पालिकाको भ्रटाचारलाई रोक्नु पर्ने माग राखेको स्थानीयको भनाइछ ।