विराटनगर । गाउँपालिकाको काममा अनियमितता तथा गुणस्तरहीन भएको भन्दै हाई टेन्सन लाइनको पोलमा चढेका एक युवक ११ घण्टापछि पोटबाट झरेका छन् । गाउँपालिकालाई पटक पटक भन्दा पनि माग सम्बोधन नभएपछि मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ डंग्राहाका दिनेशकुमार माझी
हाई टेन्सन
लाइनको पोलको टुप्पोमा पुगेर बसेका थिए । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाहको चेतावनी सहित उनी त्यहाँ पुगेका थिए । अध्यक्ष र उपाध्यक्षसँग मात्र छलफल गर्ने भनेर पोलमा बसेका माझी साँझ मात्र अध्यक्ष र उपाध्यक्ष आएपछि पोलबाट झरेका थिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरे पनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट बिद्युत् दौडिरहेको पोलमा उनी ११ घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन । गाउँपालिकामा भएको अनियमितता लगायत वडा नम्बर ७ को रिटेनिङ वाल भत्काएर गुणस्तरीय वाल लगाउनु पर्ने माग सहित उनी आफ्नो ज्यानलाई बाजी थापेर हाई टेन्सन लाइनको पोलमा चढेका थिए । विकास निर्माणको विषयलाई लिएर हाई टेन्सन लाइनको पोलमा चढेको खबरले धनकुटा पुगेका अध्यक्ष र उपाध्यक्ष फर्किएका थिए ।