विराटनगर । नेपाल नर्सिङ सङ्घ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारी स्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।
जग्गादाता होमा देवी न्यौपानेले भवन उद्घाटन गरिन् । जग्गादाता न्यौपानेले नर्सहरूलाई बिरामीको राम्रो सेवा गर्न सुझाव दिँदै नर्सिङ सङ्घलाई आफ्नो भूमिका अब्बल बनाउन शुभकामना दिइन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमासमेत रहेकी न्यौपानेले नर्सिङ सङ्घको कार्यालयलाई व्यवस्थित गर्न ५० हजार प्रदान गर्ने घोषणा पनि गरिन् । कार्यक्रममा विराटनगर महानगरपालिका–४ का वडाध्यक्ष जितन थापाले नर्सिङ सङ्घलाई आगामी दिनमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक तथा जग्गादाता इन्दिरा शर्माले भवन निर्माणपछि नर्सिङ सङ्घको संस्थागत गतिविधि सञ्चालन गर्न सहजता मिल्ने विश्वास व्यक्त गरिन् । उनले भवन निर्माणका लागि यसअघि १ लाख ५० हजार सहयोग पनि गरेकी थिइन् । जग्गादाता होमा देवी र इन्दिरा सासू–बुहारी हुन् । उनीहरूको परिवारले चार बर्सअघि नर्सिङ सङ्घलाई नोबेल अस्पताल परिसरमा १० धुर जग्गा प्रदान गरेको थियो । सोही जग्गामा करिब ४० लाखको लागतमा नर्सिङ सङ्घको भवन निर्माण गरिएको सङ्घका सचिव मेनुका भण्डारीले जानकारी दिइन् । उनका अनुसार भवन निर्माणका लागि नर्सिङ सङ्घ केन्द्रीय कमिटीले २५ लाख उपलब्ध गराएको थियो, बाँकी रकम जुटाएर भवन बनाइएको हो ।