सुनसरी ।  खेलकुद बिकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले हटाउने तयारीसंगै एक दर्जन प्रतियोगिता अनिश्चित बनेको छ । यसै आर्थिक बर्षको जेठ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेसंगै झण्डै २ करोड रुपैया बजेट फ्रिज हुने जोखिम बढेको छ । 

   कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको खेलकुद बिकास बोर्डको गत चैत्र १६ गते बसेको बोर्ड बैठकले कोशी प्रदेशका जिल्लामा बिभिन्न खेलकुदका प्रतियोगिता आयोजना गर्ने र उक्त प्रतियोगिताका लागि २ करोड बजेट छुट्याएको थियो । प्रदेश सरकारले बोर्डको बैक खाता रोक्का गर्दै सदस्य सचिव वाग्लेलाई हटाउने तयारी गरेसंगै जेठ मसान्तभित्र गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेका हुन । 

    खेलकुद बिकास बोर्डले जेठ १ गतेदेखी ७ गतेसम्म ओखलढुंगामा आयोजना गर्ने कार्यतालिका रहेको मुख्यमन्त्रीकप पुरुष फुटबल प्रतियोगिता र जेठ पहिलो हप्ता बिराटनगरमा सम्पन्न गर्नुपर्ने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम पनि अनिश्चित बनेको छ । बोर्डले फुटबलका लागि ३० लाख र महिला तालिमका लागि १० लाख रुपैया छुट्याएको थियो । बोर्डले जेठ १८ गतेदेखी २१ गतेसम्म इटहरीमा गर्ने तयारी गरेको मुख्यमन्त्रीकप महिला रात्रीकालिन भलिबल प्रतियोगिता, जेठ १२ देखी १३ गतेसम्म बिर्तामोड झापामा गरिने शारिरीक सुगठन प्रतियोगिता, जेठ ९ देखी ११ गतेसम्म भोजपुरमा गरिने प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता र जेठ १४ देखी २० गतेसम्म बिराटनगरमा गरिने राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता पनि अनिश्चित बनेका छन । बोर्डले महिला भलिबल प्रतियोगिताका लागि २५ लाख, शारिरीक सुगठन र तेक्वान्दोको लागि १५-१५ लाख र टेनिसको लागि २५ लाख रुपैया बजेट छुट्याएको छ । 

    यस्तै जेठ १७ देखी १९ गतेसम्म इटहरीमा हुने भनिएको राष्टिय पौडी प्रतियोगिता, जेठ २२ देखी २५ गतेसम्म उदयपुरमा हुने प्रदेश स्तरिय बक्सिङ प्रतियोगिता, जेठ दोस्रो हप्ता मोरंङ र सुनसरीमा आयोजना गरिने भनिएको अपाङगता भएका ब्यक्तिहरुका लागि पारा ओलम्पिक प्रतियोगिता पनि अन्योलमा परेको खेलकुद बिकास बोर्डले जनाएको छ । बोर्डले पौडी र  बक्सिङगका लागि १५-१५ लाख र पारा ओलम्पिकका लागि २५ लाख रुपैया बजेट छुट्याइएको जनाएको छ । 

    वाग्लेलाई हटाउने तयारी गरेको सामाजिक बिकास मन्त्रालयले स्पष्टीकरण पेस गर्न बिहिबार दोस्रो पत्र पठाएको थियो । वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पनि उनीसँग स्पष्टीकरण मागेको थियो । उक्त स्पष्टीकरणको जवाफ समेत चित्त बुझ्दो नभएकाले कारण सहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निणर्य अनुसार बिहिबार अर्को पत्र पठाएपछी वाग्लेले आइतबार पुन स्पष्टिकरण पेश गरेका थिए । 

     सामाजिक बिकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सदस्य सचिव वाग्लेले पेश गरेको उक्त स्पष्टीकरण अध्यन गर्ने र चिक्तबुझ्दो नभए प्रक्रिया पुर्याएर बर्खास्त गरिने बताए । उनले भने - स्पष्टिकरण अध्यन गरेर एक हप्ताभित्रमा निणर्य गरिसक्छौ र कार्यतालिकामा रहेर रोकिएका प्रतियोगिताहरु के कसरी सम्पन्न गर्ने निणर्य हुन्छ । उनले वाग्लेलाई सफाई दिन सकिने सम्भावना निक्कै कम रहेको बताउदै यदी बर्खास्त भए एक हप्ताभित्र नया सदस्य सचिव नियुक्त हुने जानकारी दिए ।

सदस्य सचिव वाग्लेले राजनितिक प्रतिशोधका आधारमा आफूलाई पटक पटक स्पष्टिकरण सोधिएको बताउदै मन्त्रीले कानूनी राज्यमा हुकुमी शैलीमा निणर्य गरिएको दाबी गरे । सामाजिक बिकास मन्त्रालयका महाशाखा प्रमुख फणिन्द्र खत्री र केही नेताहरुको उक्साहटमा खेलकुद बिरोधी कदम चालिएको र यदी बर्खास्त गरिए न्याएको लागि अदालत जाने वाग्लेको भनाई छ । वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा नेकपा एकीकृत समाजवादीको कोटामा सदस्यसचिव नियुक्त भएका हुन् । सामाजिक  विकास मन्त्री राजभण्डारी नेकपा एमालेका हुन ।