सुनसरी ।   इटहरीको स्थित यातायात व्यवस्था कार्यालय कोसीमा प्रहरीले छापा मारेको छ । इटहरीस्थित हलगढामा रहेको यातायात व्यवस्था सेवा कार्यालय सवारीमा बुधवार दिउसो प्रहरीले छापा मारी बिचौलियाको रूपमा काम गरी सेवाग्राही ठगेको आरोपमा २२ जनालाई पक्राउ गरेको छ ।

यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्त्वपूर्ण  कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासो आएपछि प्रहरीले छापा मारेर २२ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ पर्नेमा एक जना करार कर्मचारी सहित कार्यालय परिसरमा सञ्चालित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । यस्तै बजाज, होण्डा, यमाहा, भेस्वा ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारी समेत पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट यातायात कार्यालयको १५ वटा ढड्डा, २३ वटा ब्लु बुक र १५ वटा फायल पनि नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै विभिन्न स्टाम्प छापहरू समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यातायात कार्यालयका निमित प्रमुख राजकुमार गुप्ताले लेखापढी सेन्टरका व्यक्ति पक्राउ परेको र छानबिनबाट दोषी देखिए कारबाही हुनुपर्ने बताए ।