विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रूपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।

महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व सङ्कलनलाई प्रविधिमैत्री बनाउन लागेको हो । त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरू घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताए  । उनले जनतालाई सहज रूपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिए । 

वडामा ई–सिफारिस र ई–पेमेन्ट पूर्ण रूपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताइन । अनलाइनमार्फत कसरी सेवा लिने भनेर हामी महानगरवासीलाई विभिन्न माध्यमबाट जानकारी गराउनेछौँ,उनले भनिन् । अभिमुखीकरण तालिममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले सेवालाई प्रविधिमैत्री बनाउँदा जनशक्तिसमेत कम लाग्ने बताए । पहिलो चरणमा वडा सचिवहरुलाई अभिमुखीकरण तालिम दिएको महानगरले केहीमै वडाका अन्य कर्मचारीहरूलाई पनि तालिम दिने तयारी गरेको छ ।