विराटनगर । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम ल्याउने बारेमा छलफल गर्न बैठक बस्न लागेको नेपाली काँग्रेस संसदीय दलले जनाएको छ। कोसी प्रदेश सभाको बैठक प्रदेशको नामकरण गरेर स्थगित भएको थियो । नामकरणपछि स्थगित भएको प्रदेशसभाको बैठक बोलाउने बारेमा पनि नेपाली काँग्रेस भित्र दलको धारणा स्पष्ट पार्नको लागि बैठक बोलाउन लागिएको बताइएको छ। प्रदेशको नामकरण पछि भई रहेका आन्दोलन, प्रदेश सभाको बैठक तथा प्रदेश सरकारले ल्याउने बजेट नीति तथा कार्यक्रमको बारेमा धारणा बनाउन बैठक बोलाएको हो । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले बैठक एजेन्डा केन्द्रित भन्दा पनि समसामयिक विषयमा छलफल गर्न बोलाइएको बताए ।
यसअघि नेपाली काँग्रेस संसदीय दलको बैठक काठमाडौँमा बोलाइएको थियो । बैठकले अहिले भइरहेको सरकार ढालेर नेपाली काँग्रेस नेतृत्वको सरकार बनाउने बारेमा अन्तिम प्रयास गर्ने निर्णय भएको बताइएको थियो । बिहीबार बस्ने भनिएको बैठकमा पनि सरकारको बारेमा छलफल हुने बुझिएको छ । नेपाली काँग्रेस बजेट नीति तथा कार्यक्रम ल्याउन भन्दा पहिला नै कोसी प्रदेशको सरकार ढाल्ने कसरतमा देखिएको छ ।