विराटनगर । कोशी प्रदेश संसद्  सचिवालयले प्रदेश सभा सदस्यहरूलाई ल्यापटप दिनका लागि टेन्डर आव्हान गरेको छ । कोशी प्रदेश सभामा रहेका ९३ जना प्रदेश सभा सदस्यहरूलाई ल्यापटप दिनका लागि खरिदका लागि टेन्डर आव्हान गरिएको छ ।

१ सय वटा ल्यापटप खरिदका लागि इ टेन्डर खोलिएको कोशी प्रदेश सभासचिवालयले जनाएको छ । यसका लागि १ करोड ५० लाख रुपैयाँ बजेट रकमान्तर गरेर व्यवस्था गरिएको छ । 

सांसदलाई ल्यापटप खरिदका लागि बजेट भने थिएन । कोशी प्रदेश सभा  सञ्चालन व्यवस्थापन  समितिको  चैत्र २८ गतेको बैठकले ल्यापटप खरिद गर्ने  निर्णय गरेको हो । समितिमा सभामुख उप सभामुख प्रदेश सभा सचिवालयका सचिव र आन्तरिक मामिला मन्त्री रहने छन् । आन्तरिक मामिला मन्त्री को हैसियतले सो बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले समेत हस्ताक्षर गरेका छन् ।

सरकारको इ लेजिश्लेशन र इ गभर्नेन्सको नीति अनुसार प्रदेश सभा सदस्यहरूलाई प्रविधि मैत्री बनाउन ल्यापटप दिने निर्णय गरेको कोशी प्रदेश सभा सचिवालयका उप सचिव गौतम प्रसाद अमात्यले बताए । प्रदेश सभाले एउटा ल्यापटपको १ लाख रुपैयाँ राखेर ठेक्का खोलेको छ ।