सुनसरी । उच्च अदालत बिराटनगरले खेलकुद बिकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निणर्य तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद बैठकले वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो । उक्त निणर्य बिरुद्ध वाग्लेले उच्च अदालत बिराटनगरमा रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायधिस कमलकृष्ण अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निणर्य कार्यन्वयन नगर्न आदेश दिएको सदस्य सचिव वाग्लेले जानकारी दिए । यसअघि वाग्लेलाई हटाउने तयारी गरेको सामाजिक बिकास मन्त्रालयले दुई पटक स्पष्टीकरण सोधेको थियो ।

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो पटक उनीसँग स्पष्टीकरण मागेको थियो । दुबै स्पष्टीकरणको जवाफ समेत चित्त बुझ्दो नभएको जनाउदै सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीको प्रस्तावमा मन्त्री परिषद बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो ।