सुनसरी । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा प्रमुख सहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ बर्षीय बिश्वराज शाक्यलाई सहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक डीएसपी राजकुमार राईले जानकारी दिए ।
एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए । पक्राउ पर्नेमा बैंकको गाइघाट शाखाका अप्रेसन इन्चार्ज विराटनगरका ३४ बर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ बर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ बर्षीय मनोज घिमिरे, इटहरी ७ का २७ बर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० बर्षीय पवित्रा कटवाल रहेका छन् । त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यबिनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राइले बताए ।
प्रधानलाई प्रहरीले गत चैत्र २२ गते पक्राउ गरेको थियो भने भुजेललाई बैशाख १० र खिउजुलाई बैशाख १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्यलाई हिजो जेठ ५ गते शुक्रबार पक्राउ गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कन्ट्र्याक आइपीएस मार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेक मार्फत् झिकेर हिनामिना गरेका थिए । बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको प्रहरी नायब उपरिक्षक राईले बताए ।
पक्राउ परेका कर्मचारी सहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारन ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको राईले बताए ।