विराटनगर । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानको दायरामा परेको प्रमुख दलका शीर्ष नेताहरूलाई पनि दोषी पाइए कारबाही गर्नु पर्ने माग गरेको छ । मङ्गलवार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापन पत्र दिँदै माग गरेको हो । समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरूमाथि कारबाही सुनिश्चित गर्ने आग्रह समेत गरेको छ ।
समाजका मोरङ अध्यक्ष प्रा.डा. जीवनकुमार ढकालले मोरङका प्रजिअ यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुग्ने गरी ज्ञापन पत्र बुझाइएका हुन् ।
शरणार्थी प्रकरणमा शीर्ष नेताहरूको नाम जोडिदा पनि अनुसन्धान नभएको जनगुनासो बढी रहेको सन्दर्भमा शान्ति समाजले प्रशासनलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनु अघि शान्ति समाजले जिल्ला प्रशासन कार्यालय अगाडि कुशासन र दण्डहीनता विरुद्ध धर्नासमेत दिएको थियो । धर्नामा माध्यमिक विद्यालय तथा शिक्षालय सङ्घ ‘हिसान’ का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, रोटरियन सुदीप रिजाल, व्याब्सनका अशोक लामा, अधिवक्ता धना थापा, युवा नेता रुपेश खतिवडा, साहित्यकार रामबाबु दाहाललगायत सहभागी थिए ।
ज्ञापन पत्रमा भनिएको छ ‘नक्कली भुटानी शरणार्थी सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरूको सूक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरू प्रमुख दलका शीर्ष नेताहरूसहित जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति , आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न र मानवअधिकार मैत्री ऐन बनाई संक्रमणकालिन न्याय पक्रियालाई टुङ्गोमा पुर्याउन मानवअधिकार तथा शान्ति समाजको तर्फबाट आग्रह गर्दछौँ ।’
मानव अधिकार तथा शान्ति समाज मोरङले कुशासनको अन्त्यको लागि गत वैशाख ३१ गतेदेखि दैनिक विभिन्न प्रकारका दबाबमूलक कार्यक्रममा सहभागी हुने एवम् आफै पनि गर्दै आएको अध्यक्ष ढकालले बताए ।