विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश नामकरणको विषय वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नं १ नामाङ्कन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई यथाशक्य सम्बोधन गर्न आग्रह गरेको हो । नाम राख्नै पर्ने बाध्यताका कारण कोशी नामाकरण गरेको स्पष्टिकरण दिएको नेपाली कांग्रेसले विज्ञप्तिमा आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यू लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न पनि भनेको छ। परिस्थितिलाई शान्त बनाउँदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गरिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लङ्घन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गरिएको छ ।
अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालिन प्रदेश नं। १ ले नाम राख्नैपर्ने भएकाले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरिएको विज्ञप्तिमा भनिएको छ।