विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको  आन्दोलनलाई ध्यान राख्दै आजबाट विराटनगरको बजार क्षेत्रलाई अनिश्चित कालका लागि  निषेधित क्षेत्र तोकिएको छ ।
कोशी प्रदेशको बजेट अधिवेशन सुरु हुन लाग्दा सुरक्षालाई ध्यान राख्दै विराटनगरलाई अनिश्चित कालिन निषेधित क्षेत्र घोषणा गरिएको हो ।  कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ १४ गतेबाट बोलाइएको छ । 
अधिवेशनलाई बोलाइएसँगै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलनरत पार्टी र समूहले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात् विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिवार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चित कालीन निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ  ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । 
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।
यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निश्चित क्षेत्रमा सभा, जुलुस, धर्ना, भेलालगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । 
निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन् ।
suchana