विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले वार्ताको माध्यमाबाट समस्याको समाधान निकाल्नु पर्ने बताएका छन् । प्रहरीको घेराबाट प्रदेश सभा सञ्चालन गर्ने नैतिकता नभएको बताए । दोस्रो बैठकमा आउने कुरामा नै नैतिकताको प्रश्न उब्जिएको उनले बताए । ‘वार्ता गर्न के आपत्ति छ, वार्ता गर्दैमा कोशी प्रदेश खारेज गर्नु पर्छ भन्ने छैन, थापाले भने, आन्दोलनरत पक्षलाई हामीले सम्झाई बुझाई गरेर आन्दोलनलाई शान्त पार्न पनि त सकिन्छ ।’
वार्ता गर्दैमा केही नहुने बताएका थापाले वार्ताको ढोका बन्द गरेको कारणबाट अहिलेको अवस्था जटिल बनेको बताए । आफैँ सरकारमा बसेर मलाई बन्दुकले झन्डै लाग्यो भनेको भन्दै स्वास्थ्य मन्त्री समक्ष कटाक्ष गरे ।
‘आफैँ सरकारमा बस्ने मलाई नै झन्डै बन्दुकको गोली लाग्यो भनेर आउँदै हुनुहुन्छ, उनले भने, सुरक्षा घेरामा बजेट नीति तथा कार्यक्रम ल्याउन नैतिकताले दिन्छ की दिँदैन ।’ उनले नीति कार्यक्रम, बजेट ल्याउन भन्दा पहिला आन्दोलनरत पक्षसँग वार्ता गर्नु पर्नेमा जोड दिए ।
नामकरणको बारेमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी कोशी नामकरणको विपक्षमा रहेको भए पनि कोशी नामकरणको पक्षमा उभिएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको मत पनि एक नभएको बताए । ‘अहिले आन्दोलन चलिरहेको बेलामा हामी तिन वटै दलको मत फरक भइरहेको छ, उनले भने, नेकपा एमाले आन्दोलनसँग भिडेर जाने हो की जस्तो देखिएको छ, माओवादी केन्द्रले गल्ती भएछ भनेर विज्ञप्ति निकालेर हात खुट्टा उचालेर बसेको छ , अब नेपाली काँग्रेसको दृष्टिकोण भनेको नामकरणको नैतिक जिम्मेवारी हामी लिन्छौँ तर वार्ता सरकारले गर्नु पर्छ ।’ नेपाली काँग्रेस गल्ती भयो भनेर हातखुट्टा उचालेर नबस्ने, एमालेजस्तो भिडेर जाने अवस्थामा नेपाली काँग्रेस नभएको स्पष्ट पारेका थापाले सरकारले वार्ता गराइदिनु पर्ने बताए ।