विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
प्रदेश कमिटीको मंगलबार र बुधबार बसेको बैठकले हिक्मतकुमार कार्की नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको जसपा प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिएका छन् । यो निर्णयसँगै स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूलाई सरकारबाट फिर्ता बोलाइएको छ।
प्रदेश कमिटीको निर्णय मन्त्री लिम्बूलाई जानकारी दिइसकेको अध्यक्ष याक्खाले जनाए ।
गत पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि जसपाकी प्रदेशसभा सदस्य लिम्बू पुस २५ गते कोशी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त भएकी थिइन् ।
राष्ट्रपति निर्वाचनमा यो गठबन्धन फुटेर कांग्रेस, माओवादी केन्द्र, जसपासहितको नयाँ समीकरण बनेपछि केन्द्रसहित बाँकी ६ प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भएको छ । तर कोशी प्रदेशमा भने एमाले नेतृत्वकै सरकार कायम छ ।
मुख्यमन्त्री हिक्मत कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेशसभा सदस्यको समर्थन छ ।
सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।